no comments

पोखरा जेसिज द्धारा शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा, १३ असोज / पोखरा जेसिजले सडक बालबालिकाहरुलाई शैक्षिक, स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । अन्नपुर्ण गाउँपालिका १ लेवाडे स्थित फुलवारी श्रोत केन्द्रमा रहेका १७ जना सडक बालबालिकालाई शैक्षिक सामग्रीका साथै स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको हो ।

पोखरा जेसिजले सप्ताहव्यापी कार्यक्रम अनतर्ग दोस्रो दिन सो कार्यक्रम सम्पन्न गरेको हो । सडकमा रहेका बालबालिकाको भविष्य अन्धकारमा नभई उज्यालो हुनुपर्दछ भन्ने सोचका साथ बालबालिकालाई सहयोग गरेको हो । पोखरा महानगरपालिकाको सहयोगमा सडक बालबालिकाको उद्धार गरी फुलबारी स्रोत केन्द्रमा राखिएको छ ।

केन्द्रले सडक बालबालिकाको उद्धार गरी स्नातक सम्म अध्ययनको लागि समेत सहयोग गर्दै आइरहेको छ । जेसिजले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बोल्दै अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले मानव भावना लिएर शिक्षाको ज्योति देखाउन सहयोग गरेको भन्दै आभार प्रकट गरे ।

सडकमा रहने बालबालिका मात्र नभई उनीहरुलाई पाउने कतिपय आमाहरु समेत सडकमै रहने गरेको बताउँदै कुवँर त्यसता महिलाको समेत उद्धार गरी सिपमुलक तालिम दिएर जिविकोपार्जनको बाटो देखाउन आवश्यक रहेको बताए । ‘गरिबका मात्र होइन धनीका छोराछोरी समेत विभिध कारणले सडकमा आउने गरेका रहेछन । हामीले कोसिस गरे सम्भव रहेछ’ कुवँरले भने । गाउँपालिकाले खाना नफालौ अभियान समेत सञ्चालन गर्दै आएको कुवँरले बताए ।

३२ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा बालबालिकालाई राख्ने आवास गृह, तालिम हल समेत रहेको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका तथा अन्नपुर्ण गाउँपालिकाको सहयोगमा सो क्षेत्रमा पुग्ने बाटो सहित किचन तथा आवस समेत निमार्ण भएको श्रोतकेन्द्रका प्रमुख रामचन्द्र शर्माले जानकारी दिए । २५ वर्ष देखि सरकारसंग हातेमालो गर्दै आइरहेको केन्द्रले ३७ प्रतिशत आम्दानी आफैले गर्दै आइरहेको छ ।

हाल सोहि केन्द्रको सहयोगमा करिब ५ सय विधार्थीले विभिन्न १ सय ६८ विधालयमा अध्ययन गर्दै आइरहेका छन । कार्यक्रममा सप्ताहव्यापी कार्यक्रम संयोजक मिनराज खड्का, पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटा, शैक्षिक सामग्री हस्तान्तरण संयोजक कपिल पौडेल, सहयोगदाता प्रिति मगर लगायतले आफ्नो भनाइ राखेका थिए । हाल श्रोतकेन्द्रमा १४ बालक, ३ बालिका र एक वयस्क व्यक्ति रहेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese