no comments

दस्तुर तिर्ने हामी, रसिद पाउने किन अर्कोः नेउवा महासंघ गण्डकी अध्यक्ष कोइराला

पोखरा, २९ पुस / नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले बैंक तथा वित्तीय संस्थामा धितो बन्धक राख्दाको मालपोत शुल्क १० हजारभन्दा बढी नबनाउन माग गरेको छ । धितो बन्धकको रसिद व्यवसायीकै नाममा काट्नुपर्ने माग पनि महासंघ गण्डकीको रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाको नेतृत्वमा बुधबार गएको प्रतिनिधिमण्डलले गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसमक्ष सो माग राखेको हो ।

अहिले मालपोत कार्यालयमा धितो बन्धक राख्दा कर्जाको रकम हेरेर दस्तुर तोकिन्छ । महासंघले भने यसरी कर्जाको दस्तुर तोक्नु भनेको सेवा शुल्कभन्दा पनि महंगो भएको र यसले व्यवसायीको ढाड भाँचेको बताएको छ ।

‘अहिले हामीले १ हजारदेखि १ लाख ५० हजारसम्म दस्तुर तिर्दै आएका छौँ’, महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले भने,‘अझ रमाइलो त के छ भने दस्तुर हामी तिर्छौंँ तर रसिद बैंकको नाममा काटिन्छ । हामीले तिरेको पैसाको रसिद हामीले नै पाउनुपर्छ हैन भने त्यो दस्तुर बैंकले नै तिर्नुपर्छ ।’

ज्ञापनपत्र बुझ्दै गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्योगी÷व्यवसायीको माग जायज भएकोले यसबारे प्रदेश सरकारले गम्भीर भएर सोच्ने बताएको महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले जनाए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese