no comments

रेडक्रस र आविष्कार केन्द्रले गण्डकी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पोखरा, १२ मंसिर / नेपाल रेडक्रस सोसाइटी कास्की र राष्ट्रिय आविष्कार केन्द्रले पोखरा गण्डकी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यलाई सहयोग सामग्री हस्तान्तरण गरे ।

नेपाल रेडक्रस सोसाटी कास्कीले कोकाकोला फाण्डेसनको सहयोगमा १८ लाख ५८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहायोग गरेको हो । एक थान भेण्टिलेटर सहित स्यानिटाइजर, मास्क, पञ्जा, जुत्ता लगायत स्वास्थ्य सामग्रीहरु रहेका छन् ।

सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री गुरुङ्गले नागरिकको स्वास्थ्यका विषयमा गण्डकी प्रदेश सरकार अहोरात्र खटिरहेको बताएका छन् । केहि दिन अघि पोखराको विभिन्न अस्पताल घुमाउँदा घुमाउँदै विरामीको ट्याक्सीमै मृत्यु भएको विषय कोट्याउँदै गुरुङ्गले रकम अभाव हुनेहरुले महंगा नीजि अस्पताल धाउनुको साटो सरकारी अस्पतालमा आउनु पर्ने बताए ।

पोखरा महानगरपालिकाकाका मेयर मानबहादुर जिसीले कोरोना संक्रमितको संख्या ज्यादै बढेको अवस्थामा अस्पतालको बेड मात्रै खोज्नु भन्दा पनि होम क्वारेण्टाइन र होम आइसुलेसनलाई नै प्राथमिकता दिइनुपर्ने बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले बिरामीको उपचारमा जनशक्तिको अभाव भएको जनाउँदै कोरोनाविरुद्धको लडाईमा प्रदेश सरकार, महानगरपालिका सबैको सहयोग आवश्यक रहेको बताए ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय कोषाध्यक्ष सिताराम कोइरालाले सरकारको सहयोगी संस्था रेडक्रसले विगतमा सरकारसंग सहकार्य गर्दै आएको र आगामी दिनहरुमा पनि सहकार्यलाई निरन्तरता दिने बताए ।

त्यसै गरी कोरोना भाइरस संक्रमण नियन्त्रणमा सहयोग गर्न राष्ट्रिय आविष्कार केन्द्रले गण्डकी सरकार मार्फत अस्पतालाई स्वाब संकलन गर्ने गाडी हस्तान्तरण गरेको छ ।  गण्डकीमा हाल करिब ५ हजार सक्रिय संक्रमित छन् भने १ सय ४५ को मृत्यु भैसकेको छ । संक्रमित बढ्दै गएपछि प्रदेश सरकारले बढी संक्रमण रहेको ठाउँमा एक घर एक पिसीआर गर्ने तयारी रहेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese