no comments

फेवातालको मापदण्ड मिचेर निर्माण गरिएका संरचना हटाउन शुरु

पोखरा, २८ मंसिर/फेवातालको मापदण्ड मिचेर निर्माण गरिएका संरचना पोखरा महानगरपालिकाले भत्काउन शुरु गरेको छ । पोखरा वडा नम्बर १८ स्थित खपौंदी क्षेत्रमा निर्माण गरिएका मापदण्ड संरचना आइतबार पोखरा महानगरले डोजर लगाएर भत्काएको हो ।

ताल छेउमा गएको पहिरो उकास्न ड्याम खोलेर तालको आकार घटाएको बेला धमाधम संरचनाहरु बन्न थाले पछि महानगरले यस्तो थालेको हो ।

शनिबार महानगरले एक चरण भत्काएपछि पुनः रातारात पर्खाल ठड्याईएको हो । त्यही पर्खाल आइतबार भत्काएर सामान जफत गरिएको छ । नगर प्रहरी र नेपाल प्रहरी खटाएर डोजर चलाईएको हो ।

तालमा मापदण्ड मिचेको र अनुमति नै नलिकन संरचना बनाउन थाले पछि भत्काउने काम थालेका मेयर मानबहादुर जिसीले बताए ।

राष्ट्रिय ताल संरक्षण विकास समितिले २०६४ मा फेवातालको मापदण्ड ६५ मिटर कायम गर्नुपर्ने निर्णय गरेको थियो ।

त्यसकै आधारमा महानगरले फेवाताले वरपर नयाँ संरचना बनाउन दिएको छैन । तर जग्गाधनीहरु भने आफ्नो जग्गाको उपभोग गर्न पाउनुपर्ने बताउ छन् । लामो समयदेखि लालपुर्जाभित्रको जग्गा रोक्का राखेर राज्यले सुकुम्बासी बनाउन खोजेको उनीहरुको दुखेसो छ ।

जग्गाधनीहरुले भाडामा दिएर अरुले नै धमाधम संरचना उठाईरहेका छन् । पोखरा महानगरले पटक पटक अवैध संरचना भत्काएपनि बनाउने क्रम रोकिएको छैन ।

यसरी विना इजाजत तालमै जोडेर पर्खाल र भवन बनाइदिँदा ताल नियमित खुम्चिएको छ । जग्गाधनीहरु राज्यले वारपार लगाइदिन र आवश्यक परे उचित मुआब्जा दिएर अधिग्रहण गर्नुपर्ने बताउँछन् ।

१ महिनाको अवधीमा झण्डै दर्जन संरचना फेवाताल वरपर बनेका छन् । ति कुनैपनि संरचनाको इजाजत वडाले दिएको छैन । सर्वोच्च अदालतले तीनवटै सरकारका नाममा ताल संरक्षण र सीमांकनका लागि आदेश सहित फैसला गरेको थियो ।

त्यसकै आधारमा सरकारले सीमांकन सिफारिस समिति गठन गरेको छ । समितिले अध्ययन गरिरहँदा धेरै मुआब्जा पाउने लोभमा ताल किनारमा अवैध संरचना ठड्याउन थालिएको हो ।

लालपूर्जा भएपनि महानगरले कुनैपनि संरचना बनाउन नदिने भन्दै नक्सापास रोक्का गरिएको छ । २०१८ सालमा करिव १० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ताल अहिले खुम्चिएर साढे ४ वर्ग किलोमिटर सानो भएको छ ।

मानवीय र प्राकृतिक कारणले प्रत्येक अध्ययनमा फेवाताल खुम्चिँदै गएको देखिन्छ । वर्षेनी ८.७ हेक्टर क्षेत्र खुम्चिएको अध्ययनले देखाएको छ । इन्डियन सर्भेदेखि २०५८ सालको नापीसम्म तालको क्षेत्रफल ६० प्रतिशत पुरिएको र १ सय वर्षभित्रै ताल जमिनमा परिणत हुने निष्कर्ष निकालिएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese