no comments

पोखराबाट एभरेस्ट एफएम ९३ मेगाहर्जले प्रशारण आरम्भ

पोखरा, १० मंसिर / गण्डकी प्रदेशको राजधानी पोखराबाट बुधबारदेखि एभरेस्ट एफएम सञ्चालनमा आएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले बुधबारदेखि प्रशारण शुरु गरेको हो । एफएमको एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मकुमारी गुरुङले ट्यून अन गरेर शुभारम्भ गरेकी थिईन् । शुभारम्भ अघि व्राह्मण गुरु र लामा गुरुहरुले स्वस्ती वाचन गरेका थिए ।

एभरेस्ट मिडिया हाउसले यसअघी एभरेस्ट आवाज डटकम सञ्चालनमा ल्याईसकेको छ । विश्वव्यापी महामारीका कारण दुई दशकदेखि सञ्चारकर्ममा लागेका सञ्चारकर्मीहरुको रोजगारी गुमेपछि पोखराका दिग्गज तथा युवा युद्वमीहरुसँको सहकार्यमा सञ्चालनमा आएको एभरेस्ट मिडिया हाउस प्रालिले एफएम रेडियो, अनलाईन न्यूज पोर्टल सञ्चालनमा ल्याईसकेको छ भने चाँडै यूटूब च्यानल टिभी एभरेस्ट सञ्चालनमा ल्याउने प्रालिले जनाएको छ ।

‘सँधै सँगै’ मुख्य नारा बनाएको एभरेस्ट एफएम ९३ मेगाहर्जमा सुनिने एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । एफएम आवाज विहिन्हरुको आवाज बनाउन कोशिष गरिने उनले बताए । उनले पत्रकारिता नाफामुखी नभई सेवामुखी पेशा भएको बताउँदै उनले भने,‘यो दुई दशकको अनुभवबाट म निर्धक्क भन्न सक्छु कि पत्रकारिता यो देश र नागरिकका लागि गरिने निःशर्त सेवा मात्र हो ।’ उनले एभरेस्ट एफएमलाई समस्या छताछुल्ल पार्ने माध्यम मात्र नबनाई समस्या समाधान खोज्ने थलो बनाउने प्रतिबद्धता जनाए ।

एफएमलाई शुभकामना दिदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एभरेस्ट एफएम नामजस्तै उच्च हुनेमा आफू विश्वस्त रहेको बताए । उनले नागरिकको स्वास्थ्य सुरक्षाका लागि प्रदेश सरकार लागिपरेको उल्लेख गर्दै गरेको कामको प्रशंसासहित हौसला प्रदान गर्न र कहिंकतै चुक्दा खबरदारी गर्न पत्रकारिताको माध्यमबाट एभरेस्टले सघाउने विश्वास व्यक्त गरे ।

एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मकुमारी गुरुङले एफएमलाई सबै गण्डकीबासीको बनाउन आफूहरु सँधै प्रयत्नशील रहने बताईन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले अनुकुलतामा सबैले प्रगति गर्ने भन्दै प्रतिकुलतामापनि अनुकुलता देखेर एभरेस्ट एफएम अगाडि बढ्नु सह्रानीय भएको भन्दै सफलताको शुभकामना व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभूवन पौडेलले खारिएका पत्रकारहरुको टिमले शुरु गरेको एभरेस्ट एफएम चाँडै नै गण्डकीबासी जनतामा लोकप्रिय बन्ने विश्वास व्यक्त गरे । न्यूनतम पारिश्रमिक निर्धारण समितिका निवर्तमान अध्यक्ष गंगाधर पराजुलीले एभरेस्ट एफएम पत्रकारिताको क्षेत्रमा उदाहरणीय बन्न सकोस् भन्दै शुभकामना व्यक्त गरे ।

तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङले आदिवासी, जनजातिसँगै सिमान्तकृत समुदायको आवाजसमेत एभरेस्ट एफएमले प्रशारण गरेर उनीहरुको हक, हित र अधिकार प्राप्तिमा सघाउने विश्वास व्यक्त गरे ।

TechSansar.com - Technology Navigator website for Nepalese