विपन्न महिलालाई फेडोको दसैं राहत
पोखरा, ४ कात्तिक / गत वर्षदेखि नै प्यारालाइसिसले थलिएका पोखरा–११ काहूँका विष्णु परियारलाई आइतबार एक्कासी च्याप्यो । हाल उनी मणिपाल शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका छन् । जेठी बुहारी सुत्केरी भएकी छन् । जेठो छोरा दुर्घटनामा परे । कान्छो छोरा कुवेत जानेवित्तिकै कोरोना महामारी सुरु भयो । दसैंको मुखैमा उनको परिवारमा बज्रपात प¥यो ।
सिलाइ पेसा गरेर आम्दानी गर्ने श्रीमान थलिएदेखि सीता परियारको आँखामा आँशु थामिएको छैन । जेठो छोराले ल्याएको दसैं खर्च बुबाकै उपचारमा सकियो । वडा कार्यालयले विष्णुको उपचार गर्न १० हजार रुपैयाँ दियो । श्रीमान निको हुने नहुने द्विविधा त छ नै, उपचार खर्च सम्झेर उनको नौनाडी गल्छन् । चाडवाड आएकोमा उनलाई कत्ति पनि हर्ष छैन ।
मंगलबार दलित महिला संघ (फेडो) कास्कीले भने उनको ओठमा थोरै भए पनि मुस्कान भ¥यो । फेडोका प्रतिनिधि खाद्यान्न र रकम सहयोग गर्न पुगेपछि उनको मुहार केही उजेलियो । फेडोले उनलाई दसैं राहत प्रदान गरेको हो । राहत सामग्रीमा थियो एक बोरा चामल, २ किलो दाल, २ किलो चिनी, १ किलो नुन, २ लिटर तेल, १ पाउँ चियापत्ती, आधा किलो मस्यौरा र १ हजार रुपैयाँ । राहत बुझेपछि सीताले जसोतसो दसैं टर्ने बताइन् । फेडोलाई धन्यवाद दिइन् ।
अमेरिका निवासी समाजसेवीबाट संकलित रकमबाट फेडोले पोखराका विपन्न, अपांग एवं एकल महिलालाई राहत प्रदान गरेको हो । अमेरिकामा रहेकी पर्वतकी विष्णुमाया परियारको पहलमा सहयोग संकलन भएको थियो । उनीसहित रन्चु थापा, मनकुमारी पुन, तुमला श्रेष्ठ, उर्मिला लाम्गादे, यमुना पोखरेल, अतिकला लापा, चमेली परियार, कल्पना रामदाम, चुङला शेर्पा, कृष्ण सिंह, उजेली रामजाली, बिमला लिम्बु र भुवन विश्वकर्माले आर्थिक सहयोग गरेका थिए ।
फेडो कास्कीले पोखराको बाटुलेचौर, हेमजा, काहूँ, बाँझापाटन, छोरेपाटन, घारीपाटन, कालिका, गगनगौंडा र रिठ्ठेपानीका १६ महिलालाई राहत वितरण गरेको सहसचिव सरस्वती परियारले जानकारी दिइन् । फेडो कास्की अध्यक्ष कोपिला गायकले कोरोना महामारीमा दलित महिलाको आर्थिक अवस्था झनै खस्किएको बताइन् । ‘यहीं बेला चाडवाड आउँदा भार झनै थपिन्छ,’ उनले भनिन, ‘थोरै भएपनि राहत होस् भनेर सहयोग गरेका हौं ।’