no comments

कन्चन क्यापिटल कपको उपाधि पोखरा क्रिकेट एकेडेमीलाई

पोखरा, ४ चैत/ पोखरा क्रिकेट एकेडेमीको आयोजनामा सञ्चालित इण्डो नेपाल कन्चन क्यापिटल कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पोखरा क्रिकेट एकेडेमीले जितेको छ ।

पोखरा रंगशालामा बुधबार भएको फाईनल खेलमा पोखरा क्रिकेट एकेडेमीले सरगुजा क्रिकेट एकेडेमी भारतलाई २० रनले पराजित गर्दै उपाधि आफनो नाममा लेखाएको हो ।

टस जितेर व्याटिङ गरेको पोखरा क्रिकेट एकेडेमीले विकास अधिकारीको ३४ रनको महत्वपूर्ण योगदानमा १४६ रनको लक्ष्य तयार गर्यो । सोहेल कुँवरले २५ बल खेल्दै २२ रनको इनिङ खेले । कृष्ण पौडेलले पनि ३३ रनको पारी खेल्दै प्रतिस्पर्धात्मक लक्ष्य तर्फ उन्मुख बनाएका थिए ।

सरगुजा क्रिकेट एकेडेमीका बलर अन्सुमन कुवरले ४ ओभरमा ३ विकेट लिए । शुभम सिंहले २ विकेट लिदाँ जितेन्द्र चौधरीले पनि समान २ विकेट नै आफनो नाममा लेखाएका थिए ।

१४७ रनको जितको लक्ष्य पछ्याएको सरगुजा भने १२० रनमै समेटियो । विकास विश्वकर्माले ६६ रनको पारी खेलेपनि जितसम्म डोहोर्याउने भने सकेनन् । उनले ६३ बल खेल्दै उत्कृष्ट पारी खेल्दै गतिलो शुरुवाती दिलाएका थिए ।

अन्सुमन सिंहले पनि १५ बलमा २६ रनको योगदान दिए । जितेन्द्र चौधरीले २२ बलमा २९ रनको योगदान दिएका थिए । यद्यपी जितको हकदार बन्नबाट भने चुके । पोखरा क्रिकेट एकेडेमीका बलर विपिन खत्रीले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए ।

भारतका तीन र पोखराको १ गरी चारवटा एकेडेमीले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितालाई मुख्य प्रायोजन गरेको कन्चन क्यापिटलका प्रबन्ध निर्देशक विमलमान गुभाजूले ट्रफी प्रदान गरेका थिए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese