मुख्यमन्त्रीको प्रेस संयोजकमा भरत कोइराला
पोखरा, २० असार/ पत्रकार भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील कोइराला हाल आदर्श समाज दैनिकका सम्पादक छन् । उनले २०५८ सालमा अन्नपूर्ण पोस्टदेखि पत्रकारिता सुरु गरेका थिए ।
सुरुआतमा काठमाडौंमै रहँदा डेस्कमा कार्यरत उनी २०६५ सालदेखि पोखरामा दी हिमालयन टाइम्स र अन्नपूर्ण पोस्टको व्यूरो चिफ सम्हाल्न आइपुगेका थिए । त्यस्तै २०७२ सालदेखि समाधान दैनिकमा आबद्ध उनी त्यहाँ रहँदा कार्यकारी सम्पादकको भूमिकामा रहेकोमा गत वर्ष पुसदेखि आदर्श समाजमा आबद्ध भएका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर उनी संसदीय मामलाका जानकार मानिन्छन् । संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष कोइरालाले भद्रकाली मावि, कुँडहरमा पत्रकारिता प्राध्यापनसमेत गर्छन् । स्याङ्जाको पुतलीबजार वडा १३ का स्थायी वासिन्दा कोइराला हाल पोखरा ११, फूलबारीमा बसोबास गर्दै आएका छन् ।
गत जेठ २९ मा काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा गण्डकीमा नयाँ सरकार आएको हो ।