no comments

अनेसास गण्डकीको कोरोना संस्मरणमा गौरी प्रथम

पोखरा, २७ साउन / अनेसास नेपाल गण्डकी समितिद्वारा लकडाउनमा साहित्यकारलाई सिर्जनशील बनाउन आयोजना गरेको प्रदेशस्तरीय लकडाउन संस्मरण प्रतियोगिता–२०७७ मा गौरी तमु प्रथम भएकी छन् । यसैगरी प्रतियोगितामा वी एस निरबले द्वितीय र तारानाथ पराजुलीले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

यस्तै प्रतियोगितामा कान्ति पौडेल, डा. कालु शर्मा सुवेदी, कुशुमकेशव पराजुली, गगन थापा मगर, गोपाल खनाल, तीलक पौडेल, दिलिप दोषी, लिलि अधिकारी त्रिपाठी, सन्दीप खत्री र सुमन श्रापित उत्कृष्ट १० मा पर्न सफल भएका छन् ।

अनेसास गण्डकीले २०७७ वैशाख १७ गते पहिलोपटक संस्मरण आह्वानको सूचना प्रकाशन गरेको थियो । उक्त सूचनानुसार पछि ३५ दिन समयावधि थप गरेर २०७७ साउन ३ गतेसम्म संस्मरण आह्वान गरेकोमा ३७ संस्मरण संकलित भएको गण्डकीका महासचिव असफल गौतमले बताए ।

कार्यक्रम संयोजक तथा गण्डकी प्रदेश संयोजक सरिता अर्याल, गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबा र महासचिव असफल गौतमको तीन सदस्यीय प्रारम्भिक छनौट समितिबाट चयन गरिएका १३ संस्मरण अन्तिम नतिजाका लागि अकारादि क्रममा लेखकको नाम नराखीकन अनेसास गण्डकी जनाउने समितिको कोडमा मूल्याङ्कन समिति समक्ष पेश गरिएको थियो ।

अन्तिम निर्णयका लागि साहित्यकार प्रतीक ढकाल, विधान आचार्य र प्रभा बरालको तीन सदस्यीय समितिले नतिजा आयोजक समितिलाई प्रदान गरेको थियो ।

प्रतियोगितामा प्रथम हुनेले ११ हजार एक सय ११, द्वितीयले पाँच हजार पाँच सय ५५ र तृतीयले तीन हजार तीन सय ३३ रुपैयाँ नगदसहितको सम्मान र उत्कृष्ट १० ले उत्कृष्टताको प्रमाणपत्र प्राप्त गर्ने गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबाले जानकारी दिए ।

कार्यक्रम संयोजक अर्यालले विजयी प्रतियोगीलाई बधाई र प्रतियोगितामा सहकार्य गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै पुरस्कार वितरण कार्यक्रम कोरोना कहरको महामारी कम भएपछि पोखरामा औपचारिक कार्यक्रम बीच अर्पण गरिने बताइन् ।

उपाध्यक्ष घायलश्रीले प्रतियोगितालाई सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै निकट भविष्यमा उत्कृष्ट संस्मरणसहितको कृति प्रकाशन गर्ने अभियानमा प्रदेश समिति रहेको बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese