no comments

आहा रारा गोल्डकपमा आर्मी टाइब्रेकमा हराउदै मनाङमस्र्याङ्दी फाइनलमा

पोखरा, १३ माघ/ त्रिभुवन आर्मी क्लबलाई हराउदै मनाङमस्र्याङ्दी क्लब आहा रारा गोल्डकपको २० औं सस्करणको फाईनल प्रबेश गरेको छ । निर्धारित र थपिएको समयमा समेत गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा आर्मीलाई ४–३ गोल पराजित गर्दै मनाङ उपाधि निकट पुगेको हो । उपाधिको लागि १४ वर्षपछि फाईनलको ढोका खोलेको एपीएफसँग प्रतिस्पर्धा गर्ने छ । मनाङले निर्धारित समयमै पाएको पेनाल्टीलाई गुमाउँदा निर्णय पेनाल्टी सुटआउटसम्म धकेलिएको थियो ।

निर्धारित समय र थपिएको अतिरिक्त समयमा दुबै टिमले राम्रा अवसर सिर्जना गरेपनि सदूपयोग गर्न सकेनन् । खेलको आठौं मिनेटमै मनाङले गोल गर्ने राम्रो अवसर पाएको थियो । मनाङका फरवार्ड अडेलजा सोमिडेको क्रस बललाई क्लियर गर्न खोज्दा आर्मीका युद्ध शाहीको ह्याण्ड भएपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिए । जसमा मनाङका कप्तान विमल राना गोल गर्न असफल भए । उनले गरेको कडा प्रहार क्रसबार माथिबाट बाहिरियो ।

मनाङका विश्व अधिकारी भने गोल गर्न चुके । उनले बायाँ साइड च्यापेर हानेको प्रहार पोलमा लागेर फर्किएको थियो । आर्मीको तर्फबाट भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरेका थिए । आर्मीका दीपक गुरुङ र युद्ध शाहीले गोल गर्न सकेनन् ।

दीपकले बायाँ साइड च्यापेर हानेको प्रहार पोलमा लागेर फर्किएको थियो । युद्धले हानेको प्रहारलाई बिपक्षी गोलकिपर अशोक बरालले विफल पारे । बायाँ साइड च्यापेर हानेको उक्त प्रहारलाई गोलकिपर बरालले पञ्च गरेर रोके । टाइब्रेकरमा मनाङका फ्रयांक्लिन कुइट्टे टल्ला, शिव गुरुङ, रुपेश केसी र अफिज ओलावालेले गोल गरेका थिए । विहीबारको खेलमा टाइब्रेकरमा पेनाल्टी रोक्ने मनाङका गोलकिपर अशोक बराल म्यान अफ दी म्याच घोषित भए ।

TechSansar.com - Technology Navigator website for Nepalese