no comments

गण्डकी प्रदेशमा बहुमत सांसदको हस्ताक्षर सहित विपक्षी गठबन्धनद्वारा सरकारमा दाबी

पोखरा, २८ जेठ/ गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले नयाँ सरकारमा बहुमत सहित दाबी गरेको छ । प्रदेश प्रमुख सीता पौडेल समक्ष नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले दाबी पत्र सहित ३१ जना सांसद नै प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

विपक्षी गठबन्धनका ३१ जना सांसद रहेका छन् । स्वतन्त्र सांसद दीपक मनाङे सहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आजै आह्वान गरेपछि उनीहरूले बहुमतसहित सरकारमा दाबी गरेका हुन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए । ६० सदस्यीय प्रदेश सभामा जम्मा २७ मत पाएका उनी स्वत पदमुक्त भए ।

मुख्यमन्त्री पदमुक्त भएको खबर प्रदेश कार्यालय सचिवालयले शुक्रबार पठाएलगतै प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनको प्रक्रिया सुरू गरेकी हुन् ।

TechSansar.com - Technology Navigator website for Nepalese