no comments

अंकितको एक घण्टामै सार्वजनिक, भन्छन्, “साधनाको कदर गर्नै छाडियो”

पोखरा, २७ पुष/ दाङको तुलसीपुरबाट काठमाडौं आएर संघर्ष गरेका गायक हुन् अंकित न्यौपाने । २०६३ सालबाट औपाचिरक रुपमा संगीतमा लागेका न्यौपाने आज पनि संगीत संघर्ष गरिरहेका छन् । उनले काठमाडौंमै चण्डीप्रसाद काफ्लेसँग संगीतको औपचारिक शिक्षा लिइरहेका छन् । छैठौ वर्षको शास्त्रीय संगीत पढीरहेका न्यौपानेका हालसम्म ६० जति गीत सार्वजनिक भएका छन् ।

न्यौपानेले भर्खर मात्रै “एक घण्टामै” सार्वजनिक गरेका छन् । आफ्नै युट्युब लेखन इन्टरटेन्मेन्टबाट गीतको म्युजिक भिडियोलाई उनले सार्वजनिक गरेका हुन् । काठमाडौंको गोदावरीमा छायांकन गरिएको गीतमा न्यौपाने सँगै माण्डवी त्रिपाठीको आवाज रहेको छ ।

लेखराज गिरीको शब्द र संगीतमा तयार भएको गीतको म्युजिक भिडियोलाई पछिल्लो समयका चर्चित म्युजिक भिडियो निर्देशक गम्भिर बिष्टले गरेका हुन् । म्युजिक भिडियोमा टिकटकबाट हिट भएका स्याङजाका सुन्दर एसओसले अभिनय गरेका छन् । उनलाई याङ्गशु श्रेष्ठको साथ रहेको छ ।

उसो त पछिल्लो समय म्युजिक भिडियोमा टिकटकमा राम्रो फ्लोहर भएका र अभिनय गर्न सक्ने कलाकारले ठाउँ पाउँदै आएका छन् । न्यौपानेले आफु सुन्दर एसओसको टिकटक फ्रेण्ड भएको र उनको अभिनय गर्ने क्षमताले मन छोएको हुनाले म्युजिक भिडियोमा अनुबन्धित गरेको जानकारी गराए । उनले भने,“अभिनय गर्ने दुवै कलाकारबाट सन्तुष्ट छु । उहाँहरुले राम्रो काम गरेर देखाउनुभएको छ ।”

यसअघि मेलोडियस गीतमा आवाज भर्दै आएका न्यौपानेले पछिल्लो समयानुसारको गीत सार्वजनिक गरेको बताएका छन् । कलाकार भइसकेपछि हरेक गीतसंगीतलाई निभाउन सक्ने खुबी हुनुपर्नेमा उनी जोड दिन्छन् । भन्छन्,“म परिमाण भन्दा पनि गुणस्तरमा विश्वास गर्छु । त्यसैले मेरा गीत सिमित सार्वजनिक भएका छन् । नचल्नु आफ्नो ठाउँमा होला । तर गुणात्मक संगीतका लागि निरन्तर साधनारत रहनेछु ।”

सानैदेखि गीत संगीतमा आर्कषित न्यौपाने बुवाबाट प्रभावित भएका हुन् । उनको परिवार नै संगीतमय परिवार हो । उनी सर्जक करण न्यौपानेको प्रेरणा बाट औपचारिक रुपमा संगीतमा लागे । २०६४ सालमा “छाडी जाने मायालु उपहार छ तिमीलाई दुई थोपा आँशु” सार्वजनिक गरेपछि भने अंकितलाई गायक भनेर चिन्नेहरुको जमात बढ्यो ।

गीतसंगीतमा निरन्तरता दिने योजनामा रहेका न्यौपानेका तीनवटा गीतको अडियो तयार भएको र भिडियोका लागि पनि तयारी भइरहेको उनले जानकारी गराए । आफ्नै युट्युबलाई अगाडि बढाउन पनि गीतसंगीत अब निरन्तर सार्वजनिक गर्ने प्रतिबद्धता उनको छ ।

अंकितले मिडियाले चलेका अनुहारलाई मात्र प्राथमिकता दिएको गुनासो पोखेका छन् । आवाज बिहिनको आवाज हुनुपर्ने मिडिया क्षेत्र जसको सामाजिक संजालमा फ्लोहर बढी छ उसकै पछाडी दौडिरहेको उनले बताए ।

उनले भने,“राइजमा नआएका कलाकारलाई आशा भनेको मिडियाको हुन्छ । मिडियानै फ्लोहर बढी भएका कलाकारको पछाडि लागे नयाँ आउने कलाकारमा वितृष्णा आउँछ । राम्रा कलाकार र सिर्जना मर्छन ।” सबैको मिडिया बन्न उनको आग्रह छ ।

अंकितले गीतसंगीत क्षेत्रमा पैसाको मात्र खेलो बढ्दा राम्रा कलाकार पछाडि पर्नुपर्ने अवस्था आएको औंल्याएका छन् । उनका अनुसार नेपालमा पछिल्लो समय सच्चा साधानाको कदर हुन छाडेको छ । उनले भनेका छन्,“लगानी हुनु राम्रो हो । तर लगानी सही ठाउँमा हुनुपर्यो । राम्रा सिर्जना र साधकमा लगानी हुनुपर्यो ।” सिर्जनामै धाबा हुने खालको शब्द राख्दा नेपाली गीत संगीत क्षेत्रमा पछिल्लो समय गुनासो बढी सुन्ने गरेको तर्क उनको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese