no comments

अस्ट्रेलियाको तास्मानियामा दोस्रो पटक ‘आमा’ प्रदर्शन गर्दै सन्तोष अधिकारी

पोखरा, २६ कात्तिक/ अस्ट्रेलियाको तास्मानियामा नेपाली कथानक चलचित्र आमा पुनः प्रदर्शन गरिने भएको छ । वडादशैँको अवसरमा अक्टोबरमा पहिलो पटक प्रदर्शन गरिएको उक्त चलचित्र दोस्रो पटक तिहारको अवसरमा भाइटीकाको भोेलीपल्ट प्रदर्शन गरिने भएको हो । एएसएपी इन्टरटेनमेन्ट अस्ट्रेलिया प्रालिको विशेष पहलमा तास्मानियाको होवर्ट स्थित स्टेट सिनेमामा उक्त चलचित्र प्रदर्शन हुँदैछ ।

कोरोनाभाइरस महामारीको कारण विश्वकै चलचित्र क्षेत्र ठप्प रहेकोे अवस्थामा तास्मानियामा आमा चलचित्र प्रदर्शन गर्न लागिएको हो । अवस्था जे भएपनि चलचित्र क्षेत्र विस्तारै उठ्ने क्रममा रहेको सन्देश दिने गरी फिल्म प्रदर्शन गर्न लागिएको इन्टरटेनमेन्टका निर्देशक तथा चलचित्रका सहनिर्माता समेत रहेका सन्तोष अधिकारीले बताए ।

नोभेम्बर १७ गते स्टेट सिनेमा हलमा साँझ ६ बजे चलचित्र शुरु हुने छ । हलमा २ सय जनाको सिट रहने छ जहाँ सामाजिक दूरी कायम गरी ५० जना मात्र राखिनेछ । महामारीको कारण निराश भएका दर्शकलाई यसले सकारात्मक बल प्रदान गर्ने अधिकारीकोे भनाई छ ।

दिपेन्द्र के खनालको निर्देशन रहेको उक्त चलचित्रको निर्माता शर्मिला पाण्डे हुन भने सहनिर्माता सन्तोष अधिकारी हुन् । आमाले नेपाली समुदायमा आमाले गर्ने संघर्ष देखाइएको छ । जसमा एक बिरामी बाबूको उपचार गर्न पैसाको अभाव हुँदा छोरीले निभाएको भूमिका र छोराले जिम्मेवारीबाट भाग्न खोजेको विषय देखिन्छ ।

अन्तिममा पिताको निधनमा छोरीले नै किरिया गर्छिन । यो चलचित्रमा अभिनेत्री मिथिला शर्मा शीर्ष भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त छोेरीको भुमिकामा छिन् । त्यस्तै सरिता गिरी पनि चलचित्रमा प्रमुख पात्र छिन् ।

TechSansar.com - Technology Navigator website for Nepalese