no comments

पोखरामा बन्दै गरेको केवलकार लकडाउनले ढिलो

पोखरा, २४ भदौ/ फेवाताल नजिकबाट चढेर हिमाल अघिल्तिर झर्ने गरी पोखरामा बन्न लागेको केवलकार निर्माणको काम लकडाउनले लम्बिएको छ । बैशाख अघि नै बनिसक्ने तयारी रहेपनि पोखराको अन्नपूर्ण केवलकारको ५ प्रतिशत मात्रै काम बाँकी छ ।

लकडाउनका कारण जापानबाट आउनुपर्ने प्राविधिक टोली नआएका कारण केवलकारको तार र गण्डोला (केवलकारको डब्बा) जडान रोकिएको छ । तार र गण्डोला जोड्ने वित्तिकै सञ्चालनमा ल्याउने केवलकारका कन्सल्ट्याण्ट संस्था रोपवे नेपालका अध्यक्ष गुणराज ढकालले बताए ।

लकडाउन खुल्ने वित्तिकै एक महिनामै केवलकार सञ्चालनमा आउने ढकालले बताए । उनले अब जनवरी १ बाट चलाउने लक्ष्य रहेको बताए । फेवाताल किनार सेदीबगर देखि सराङकोट जोड्ने केवलकार २ हजार २ सय ७५ मिटर लामो छ । पोखरा आएका पर्यटकलाई केवलकार नयाँ आकर्षक गन्तब्य बन्ने कम्पनीको दावी छ ।

केवलकारबाट पानारोमिक दृष्य देख्न पाईने भएकोले नेपालकै पर्यटकीय उपयुक्त गन्तब्य बन्ने कम्पनीको भनाई छ । केवलकारमा प्रतिघण्टा ६ सय जनाले यात्रा गर्न सक्छन् । ३६ वटा गण्डोला राख्ने डिजाईन भएपनि तत्कालका लागि १७ वटा यात्रु बोक्ने र एउटा सामान बोक्ने डिब्बा जडान हुने ढकालले बताए ।

देशका विभिन्न परिस्थितिका कारण केवलकार निर्माणको लागत बढेको छ । सुरुमा १ अर्वमा सक्ने लक्ष्य लिईएको भएपनि पछि खर्च बढेर डेढ अर्व कम्पनीका अध्यक्ष कालु गुरुङले बताए । केवलकार सँगै रेष्टुरेण्ट, पार्किङ, कफी सप लगायतका संरचना पनि निर्माण भएका छन् ।

३० रोपनी क्षेत्रफलमा स्टेसन सहितको संरचना छ भने २५ रोपनी तार र पोलको भागमा पर्छ । परियोजनामा नेपाली व्यवसायीले ७५ प्रतिशत, जापानी नागरिक टाकासी मियाहाराले १५ प्रतिशत र स्थानीयले १० प्रतिशत लगानी गरेका छन् ।

 

 

TechSansar.com - Technology Navigator website for Nepalese