no comments

पोखरामा लाइफकेयर ल्याबमा कोरोनाको पिसिआर परीक्षण शुरु

पोखरा, ३० असोज/ लाइफकेयर डाइग्नोस्टिक प्रा.लि. (लाइफकेयर ल्याब) न्युरोड पोखराले कोरोनाको पिसिआर परीक्षण सुरु गरेको छ । बिगत ५ वर्ष अगाडिबाट पोखरामा सञ्चालित यो ल्याब प्रदेशकै एकमात्र क वर्गको ल्याब हो । ल्याबले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपिएचएल) बाट मान्यता प्राप्त गरेको छ ।

लाइफकेयर प्रा.लि.ले नेपाल सरकारबाट स्वीकृति लिइ गण्डकी प्रदेशमै पहिलो पटक निजी क्षेत्रबाट कोभिड–१९ (कोरोना भाइरस)को पिसिआर परीक्षण गराउन सुरु गरेको हो । कोभिड परीक्षणका लागि मात्रै १ करोड रुपैयाँ भन्दा बढी थप लगानी गरी प्रयोगशाला स्थापना गरिएको सञ्चालक डा. अमर नागिलाले जानकारी दिए ।

कोरोना परीक्षणका लागि अमेरिकी ब्राण्डको उच्च प्रविधिको ९६ वेलप्लेट आरटिपिसिआर मेसिन (एक पटकमा ९६ वटा टेष्ट गर्न सकिने) ल्याबमा राखिएको छ । पिसिआर परीक्षणका लागि १५ जना दक्ष जनशक्तिको व्यवस्था गरिएको नागिलाले जानकारी दिए । ‘टेष्ट प्रमाणित गर्नका लागि पिएचडी होल्डर माइक्रोबायोलोजिष्ट लगायत दक्ष कर्मचारी खटिने व्यवस्था गरेका छौं,’ उनले भने । मेडिकल माइक्रोबायोलोजिष्ट डा. सञ्जिबमणि रेग्मीको पनि ल्याबमा संलग्नता छ ।

सेवाग्राहीलाई २४ घण्टाभित्रै पिरिआरको रिपोर्ट उपलब्ध गराइने प्रवन्ध निर्देशक शुक्रराज कँडेलले जानकारी दिए । अत्यावश्यक परेमा ३ घन्टाभित्र रिपोर्ट उपलब्ध गराउन सकिने उनले बताए । ‘बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला हुँदा ३ सय स्याम्पल परीक्षण गर्न सकिनेछ,’ उनले भने, ‘आवश्यकता अनुसार २४ घन्टा परीक्षण गर्दा एक दिनमा ५ सय टेष्ट गर्न सकिने व्यवस्था मिलाएका छौं ।’

राजधानी काठमाडौंमा रहेका स्तरीय ल्याब बराबरकै सुविधा लाइफकेयरमा रहेको कँडेल बताउँछन् । ‘गण्डकी प्रदेशमा निजी क्षेत्रबाट कोरोना परीक्षण गर्ने पहिलो र एकमात्र ल्याब लाइफ केयर बनेको छ,’ उनले भने । सरकारको निर्णय अनुसार पिसिआर परीक्षण शुल्क २ हजार रुपैयाँमात्रै लिइने र अन्य शुल्क नजोडिने कँडेलले जानकारी दिए । पोखरासहित गण्डकी प्रदेशको आवश्यकतालाई मध्यनजर गरी कोभिड परीक्षण सुरु गरिएको ल्याबले जनाएको छ ।

पोखरा विश्वविद्यालयमा प्राध्यापन गरिरहेका डाक्टर अमर नागिलासहित विज्ञताको आधारमा ल्याब्रोटरी साइन्समा विद्यावारिधी गरेका ४ जना डाक्टरको प्रत्यक्ष निरीक्षण तथा आबद्धतामा ल्याब सञ्चालन भइरहेकोछ । पोखराको मुख्य बजार न्युरोडमा अवस्थित ल्याबमा अत्याधुनिक प्रविधिका मेसिनहरु रहेको अध्यक्ष डा. महेन्द्र भट्ट बताउँछन् ।

TechSansar.com - Technology Navigator website for Nepalese