no comments

पश्चिम नेपाल र पोखरा विच पर्यटन सहकार्यको प्रस्ताव

धनगढी, २२ फागुन / आपसी पर्यटकीय लाभका लागि धनगढी र कंचनपुरका ब्यबसायी पोखराका पर्यटन ब्यबसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार देखिएका छन् ।
जाउँ है पोखरा अभियान अन्तरगत संचालित आन्तरिक पर्यटन पुन:उत्थान तथा पर्यटन प्रबर्द्धन कार्यक्रमका अवसरमा पोखरा र यहाँका ब्यबसायीहरु पर्यटनबाट लाभ लिन मिलेर अघि बढ्न तयार भएका हुन् ।
यसका लागि सबै भन्दा पहिला नेपाल भारत सिमा नाका खोल्नुपर्ने माग ब्यबसायीको छ । कोभिड- १९ का कारण लामो समय देखि भारतसँगको सिमा नाका बन्द हुँदा भारतीय पर्यटक चाहेर पनि नेपाल भ्रमण गर्न पाएका छैनन् ।
पश्चिमका ब्यवसायीहरुले यहाँबाट सहज रुपमा भारतीय र नेपाली पर्यटक पोखरा पुर्‍याउने र पोखरेली ब्यवसायीले विदेशी तथा स्वदेशी पर्यटक यता पठाउने प्रस्तावमा समेत चर्चा गरिएको थियो ।
यसका लागि ब्यवसायीले कनेक्टिभिटीमा जोड दिएका छन् । पोखरासम्म सिधा बस र हवाई सेवा भए पर्यटक आउजाउमा सहज हुने उनीहरुको भनाई छ ।
फागुन ७ गतेदेखि पोखरा नेपालगंज रुटमा सीता एयरले हप्तामा दुई दिन चार्टर्ड उडान थालेको छ । यस्तै उडान धनगढीबाट सुरु गर्न पहल गरिने ब्यवसायीले बताएका छन् । नाका खुले बुद्ध एयरले पनि त्यस्तो उडान थाल्ने आश्वासन सुनाएको छ ।
धनगढीमा आयोजित कार्यक्रममा बोल्दै आयोजक पश्चिमान्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पश्चिम नेपाल र पोखरा विच हवाई सेवा विस्तार र नियमित गर्न निजी क्षेत्रले पहल अगाडि बढाउनु पर्ने बताए ।
कोभीड- १९ बाट थला परेको पर्यटनलाई जगाउन पश्चिम नेपालमा प्रबर्द्धन कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए। झण्डै तीन महिना अघि संघले पूर्वी नेपालका विभिन्न शहरमा पनि यस्तै प्रबर्द्धन कार्यक्रम आयोजना गरेको थियो ।
संघको सल्लाहकार समितिका संयोजक हरि शर्मा गैह्रेले आन्तरिक पर्यटकको महत्व सरकारले बल्ल बुझ्न थालेको भन्दै पर्यटनलाई अगाडि बढाउन ब्यबसायी विच सहकार्य जरुरी भएको बताए ।
ब्यबसायी विच सम्बन्ध विस्तार र कनेक्टिभिटीमा जोड दिन आफूहरुले कार्यक्रम लिएर आएको संघका निवर्तमान अध्यक्ष एबं होटल संघ नेपालका सदश्य भरतराज पराजुलीले जानकारी दिए ।
होटल ब्यबसायी संघ धनगढीका अध्यक्ष कलम बमले सिमा नाका खोल्ने विषयलाई प्राथमिकता दिनु पर्ने भनाई राखे । कैलाली उद्धोग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले निजी क्षेत्रले सरकारको मात्र मुख ताकेर बस्न नहुने बताए ।
प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई सुदुर पश्चिमका प्रमुख भोजराज पाठकले हवाई र सडक यातायात पर्यटनका लागि उत्तिकै आबश्यक पर्ने बताए ।
कन्चन्पुरमा आयोजित कार्यक्रममा होटल ब्यबसायी महांघका पर्यटन सचिव एबं पर्यटन पुन:उत्थान समितिका सह-संयोजक परमानन्द भण्डारीले पर्यटन विकासका लागि प्याकेजहरु बनाएर अगाडि बढ्नु पर्ने सुझाव राखे ।
होटल ब्यबसायी संघ कन्चनपुर अध्यक्ष जगदीशचन्द्र भट्टले शुक्लाफाँटलगायत पर्यटकीय सम्पदाले यस क्षेत्रको महत्व बढाएको बताए । उद्धोग वाणिज्य संघ कंचनपुरका उपाध्यक्ष हेमराज जोशी, पत्रकार मोहन विष्ट लगायतले कार्यक्रममा भनाई राखेका थिए ।
नेपाल पर्यटन बोर्डको प्रबर्द्धनमा संचालित चार दिने प्रबर्द्धन कार्यक्रम सोमबार सकिंदैछ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदश्य विप्लव पौडेलको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन पश्चिमान्चल होटल संघका महासचिव गणेशराज पहारीले गरेका थिए ।
TechSansar.com - Technology Navigator website for Nepalese