no comments

कि घट्यो फेवातालमा पानी ?

पोखरा, २६ माघ/  फेवातालमा पानी घटेपछि ताल किनारमा हेर्नेहरुको घुइचो छ । तालको पानी शनिबारदेखि घटाउन थालिएको हो । पानीको सतह अझै घटाउने क्रम चलिरहेको छ । पानी घटेको थाहा पाएर ताल हेर्न पुगेका पोखरेलीले तत्काल तालको सुख्खा भएको माटो निकाल्न सुझाब दिने गरेका छन् ।

फेवातालको पानी रोक्ने मुख्य ड्याम चारदशकपछि मर्मतसम्भार थालेपछि तालको पानी घटाइएको छ । ड्याम मर्मत गर्नका लागि तालको पानी दुईमिटर घटाइएको छ । तालमा पानी घटेपछि किनारमा हेर्न जानेहरु बढेका छन् । २०३५ साल पछि फेवातालको ड्याम मर्मत भएको छैन ।

ड्यामको मुनिबाट पानी रसाए पछि अहिले मर्मत गर्न थालेको हो । ड्यामको गेटको रबरसिल बिग्रेपछि ड्याम निमार्ण गर्न थालेको जलस्रोत तथा सिंचाई विकास डिभिजन कास्कीका प्रमुख इन्जिनियर किरण आचार्यले बताए । एकमहिना अवधि लगाएर ड्याम मर्मत गरीने आचार्यले बताए ।

उनले पहिलो चरणमा ड्याममा सामान्य टालटुलका कामबाट शुरु भएको बताए । आचार्यका अनुसार ड्याम मर्मत गर्नका लागि १ करोड रुपैयाँ खर्च लाग्ने छ । पानी घटाएपछि तालको जलाशय क्षेत्र खालि भएको छ । तालको पानी घटाउँदा डुंगा व्यवसायी भने प्रभावित भएका छन् ।

डुंगा चढ्न जानेहरु पनि हिलो हुँदै आउजाउ गर्नुपरेको छ । पोखरा–६ लेकसाइडकी सिता बरालले फेवाको पानी पिएरै हुर्किएको बताइन् । उनले डुंगा चढेर माछा मार्ने, घाँसदाउरा र मेलापातसमेत गरेको सम्झना सुनाइन् ।

पहिलो पटक २०१७ सालमा फेवातालमा बाँध बाध्न थालिएको थियो । त्यो बाँध २०१९ मा पुरा भयो । त्यसपछि तालले स्वरुप लिईरहेकोमा २०३१ मा बाँध भत्किएको थियो । बाँध भत्केर तालको पानी घटेको मौका पारेर तालको जग्गा अतिक्रमण गरिएको यसअघिका अध्ययन प्रतिवेदनले औल्याएको छ ।

कि घट्यो फेवातालमा पानी ?

कि घट्यो फेवातालमा पानी ?

तालको पानी घटेको बेला भोगचलन गरेको आधारमा व्यक्तिका नाममा जग्गा दर्ता गरिएको थियो । २०३५ सालमा पुन बाँध बनेपछि तालले पुरानै रुप लिएको स्थानीयहरु बताउ छन् । पोखरा महानगर पालिकाका मेयर मानबहादुर जिसीले तालको सतह घटेको अवस्थामा इआए गरे माटो झिक्ने योजना बताएको बताए ।

विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको अहिले क्षेत्रफल करिब ४.२ वर्गकिलोमिटर छ । यो क्षेत्रफल २०१८ सालमा १० वर्गकिलोमिटर थियो । त्यही क्षेत्रफल २०३१ सालमा ६, २०५२ मा ४.४३, २०५७ मा ४.२५ हुँदै २०६४ सालमा ४.२ वर्ग किलोमिटरमा झरेको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese