no comments

पल्सर स्पोर्टस अवार्डको डिश मिडिया मुख्य सह–प्रायोजक

काठमाडौं, ७ पुष/ एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य सह–प्रायोजकको रुपमा डिश मिडिया नेटवर्क लिमिटेड जोडिएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार डिस मिडिया नेवकर्ट लिमिटेडसँग मुख्य सह–प्रायोजक सम्बन्धि सम्झौता गरेको हो ।

मञ्चका महासचिव प्रज्वल ओली र डिश मिडियाका प्रबन्ध निर्देशक सुदिप आचार्यले प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मुख्य सह–प्रायोजकको रुपमा डिस मिडियाले अवार्ड कार्यक्रमलाई नगद र जिन्सी गरि ११ लाख रुपैयाँ बराबरको सह–प्रायोजन गर्नेछ ।

सम्झौता वापत डिस मिडियाले अवार्डका लागि ७ लाख नगद र ४ लाख बराबरको जिन्सी उपलब्ध गराउने छ ।

जिन्सी अनुसार डिस मिडियाले अवार्ड विजेता खेलाडीलाई १३ थान कनेक्सनको दुई वर्षको रिचार्ज सहितको सेवा उपलब्ध गराउनेछ । यस्तै, २० जना मनोनयनमा परेका खेलाडीलाई २० थान डिस होम कनेक्सन एक वर्षको रिचार्ज सहित र १३ थाप सेट–अप बक्स दुई वर्षको रिचार्ज सहित उपलब्ध हुने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौता पछि मञ्चका महासचिव ओलीले कठिन अवस्थामा हुन लागेको अवार्ड कार्यक्रममा डिस होमले गरेको प्रायोजनका लागि धन्यबाद ब्यक्त गर्नु भयो ।

डिश मिडियाका प्रबन्ध निर्देशक आचार्यले अवार्डको निरन्तरता मुख्य विषय रहेको उल्लेख गर्दै कठिन अवस्थामा समेत आफु जोडिन पाउँदा खुसी लागेको बताए ।

खेल क्षेत्रबाट राष्ट्रलाई अतुलनीय योगदान गरेर देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड’ को १७ औं संस्करण यस वर्ष पुस २८ गते आयोजना हुदैछ ।

अवार्डअन्तर्गत गत हप्तामात्र पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको थियो ।

सो विधामा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन् ।

मनोनयनमा परेका खेलाडीले आफ्नो क्याम्पेनिङ पनि सुरु गरिसकेका छन् । पिपल्स च्वाईस अवार्डको विजेता चयन ई–सेवाबाट भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरूको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा गरिनेछ । ई–सेवाबाट भोटिङ प्रक्रिया समेत सुचारु भईसकेको आयोजकले जनाएको छ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा अवार्ड कार्यक्रमकै दिन गरिने मञ्चका महासचिव प्रज्वल ओलीले बताए ।

यसपटक एक अन्तर्राष्ट्रिय खेलपत्रकारलाई पनि सम्मान गरिने मञ्चले जनाएको छ ।

अवार्डको मुख्य प्रायोजकको रुपमा हशंराज हुलास चन्द एण्ड कम्पनी रहेको छ । अवार्डलाई सह–प्रायोजनको रुपमा सूर्य नेपाल प्रालि, रुस्लान, कामारु टे«डिङ प्रालि (अन्तर्राष्ट्रिय ब्राण्ड केल्मीको आधिकारिक बिक्री वितरक केल्मी नेपाल), टर्किस एयरलाइन्स, रोयल सिंगी होटल, होटल क्राउन प्लाजा, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको समेत सहयोग रहनेछ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese