no comments

राजधानी बाहिर पहिलोपटक युआरएलमा सुरु भयो टेक्रोलिमस जाँच

पोखरा, २२ चैत/ गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएल० ले आइतबारबाट राजधानीबाहिर पहिलो पटक टेक्रोलिसम जाँच सुरु गरेको छ ।

पोखराको न्युरोडमा रहेको प्रधान कार्यालयमा आयोजित समारोहमा अग्रज पत्रकार राजबहादुर गुरुङको टेक्रोलिमस जाँच गरी सेवा सुरुआत गरियो । टेक्रोलिमस अंग प्रत्यारोपण गरेकाहरुले खाने औषधीको नाम हो । बेला बेलामा यो औषधीको रगतमा भएको मात्रा जाँच गरी चिकित्सकले औषधी निर्धारण गर्छन् ।

यही जाँचका लागि राजधानी पुग्नुपर्ने वा पोखराबाट पठाउँदा रिपोर्ट आउन ३, ४ दिन लाग्ने र तापक्रम लगायतका कारणले रिपोर्ट नै तलमाथि हुन सक्ने जोखिम थियो ।

पत्रकार गुरुङले युआरएलले गुणस्तरीय सेवासहित सामाजिक उत्तरदायित्व वहन गर्दै आएको बताए । उनले भने, ‘डाक्टरहरु यही भए पनि यही जाँचका लागि राजधानी जानुपर्ने वाध्यता थियो । यस्ता जाँच पोखरामै उपलब्ध हुँदा खर्च र झन्झट कम हुने र रिपोर्ट पनि गुणस्तरीय हुन्छ ।’

अफिन गण्डकी महासचिव ऋषि खतिवडाले राजधानीमा मात्र हुने यस्ता जाँच पोखरामै हुँदा सर्वसाधारणलाई राहत पुग्ने बताए । युआरएलका सिइओ भूपेन्द्रराज पाण्डेयले विभिन्न अंग प्रत्यारोपण गरेकाहरुले पोखरामै जाँच गरी सेवा लिन सक्ने बताए ।

युआरएलले आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा ३ पटक यो जाँच गर्ने छ । आकस्मिक अवस्थामा जुनसुकै दिन पनि सेवा दिइने सिइओ पाण्डेयले जानकारी दिए ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले सेवाग्राही र चिकित्सकको सुझावमा यो जाँच सुरु गरिएको बताए । उनले भने, ‘विश्वकै सर्वोत्कृष्ट प्रविधिमार्फत् संवेदनशील, यहाँ नहुने र विशेष प्रकारका रगत जाँच गरी स्वास्थ्य प्रयोगशाला क्षेत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउन लागेका छौं ।’

युआरएलले पोखराको हस्पिटलचोकमा बैखाखबाट शाखा सञ्चालन गर्ने तयारी गरेको छ । २०७० बाट सेवा सुरु गरेको युआरएलका प्रधान कार्यालय पोखरासहित तनहुँको दमौली, दुलेगौंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङमा शाखा सञ्चालन भइसकेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese