no comments

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एअरको तयारी

पोखरा, २५ माघ/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बुध्द एअरले पाँच वटा जहाजमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिरहेको गरेको जनाएको छ । विमानस्थल सञ्चालनमा आएपछि बुद्धले पोखराबाट भारतको नयाँदिल्ली, देहेरादुनमा सिधा उडान गर्ने तयारी गरेको जनाएको छ ।

त्यसैगरि पोखराबाट धौलागिरीदेखि सगरमाथासम्मको हिमश्रृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य शहरहरुसँग आवश्यकता अनुसारको दैनिक सिधा उडानहरु भर्ने योजना रहेको कम्पनीले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

विमानस्थलको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने कम्पनीको भनाई छ । हाल निर्माणधिन विमानस्थलको पूर्व/पश्चिम रन–वेको पश्चिम रन–वे लाई मात्र अन्त्यसम्म टयाक्सी–वेले जोडेको छ ।

पश्चिमको ठूलो डाँडाका कारण विमान अवतरण पूर्वबाट मात्र सम्भव रहेको कम्पनीको भनाई छ । तर पूर्वको रन–वेलाई टयाक्सी–वेले नजोडेका कारण उडान भर्नुपर्दा पश्चिमबाट मात्र सम्भव भएको उल्लेख छ । यसले गर्दा ‘हवाई ट्राफिक’ बढ्न गई उडानहरु कम हु्ने देखिएको कम्पनीले बताएको हो ।

विज्ञप्ति मार्फत आधा रनवेसम्म मात्र भएको टयाक्सी–वेलाई पूर्वको रनवेको अन्त्यसम्म जोड्न आग्रह गरेको छ । ’अहिले रन–वे र टयाक्सी–वेको निर्माण सिमेन्ट कंक्रीटले भईरहेको छ, अब बाँकी टयाक्सी–वे निर्माण गर्दा प्रक्रिया लम्बिने र निर्माण खर्च पनि महँगिने हुँदा विशेषज्ञको सल्लाह लिई पिच मात्र गरे पुग्छ’ बुध्द एयरका मार्केटिङ निर्देशक रुपेश जोशीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

पोखरा आकर्षक पर्यटकीय गन्तव्य हो । यहाँ निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलले मुलुक तथा विशेषगरी गण्डकी प्रदेशमा ठूलो अवसर तथा रोजगारी सिर्जना गर्ने विश्वास लिइएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese