no comments

उद्योग वाणिज्य संघको कार्यसमितिलाई पोखरा ४ को स्वागत तथा बधाई

पोखरा, १८ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर ४ ले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा स्वागत गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित कार्यसमितिलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, वडाध्यक्ष शंकरप्रसाद बास्तोला, वडा सदस्यहरुले अविर तथा माला लगाएर स्वागत गरेको हो ।

कार्यक्रममा मेयर जिसीले विकासका लागि व्यापारिक घरनासँगै त्यसका सञ्चालकहरुसँग सहकार्य गर्नु अपरिहार्य रहेको बताए । पोखरा नगर क्षेत्रमा उत्पादन भएका बस्तुहरुलाई कसरी प्रवद्र्धन गर्ने भन्ने कुरामा महानगर र वाणिज्य संघ बसेर छलफल गर्नुपर्ने उनको धारणा थियो ।

व्यावसायलाई कसरी प्रविधी मैत्रीबनाउने भन्नेतिर सोच्ने बेलाआएको धारणा राखे । पोखरा ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले व्यावसायमा पार्किङको समस्या रहेको हुनाले उद्योग वाणिज्य संघले सहजीकरण गर्नुपर्ने बताए ।

महानगरवासी र व्यावसायीको हकहितका लागि पोखरा ४ ले विशेष भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाई छ । महानगरले फोहरलाई मोहरमा बदल्ने नीति लिएको हुँदा व्यावसायबाट निस्केको फोहरलाई सहि तरिकाले सदुपयोग गर्नुपर्ने उनको धारणा थियो ।

फुटपाथ व्यापारीको व्यवस्थापनका लागि पनि नगर पालिकाका प्रमुखको नेतृत्वमा वडा नम्बर ४ अग्रसर हुने उनको प्रतिवद्धता थियो ।

व्यावसायिक कर, घरभाडा कर लगायत करको विषयमा वडासँग सहकार्य गरेर अगाडि बढाउन आग्रह गरे । व्यावसायको सुरक्षाका लागि सिसिटिभि जडान गरेर जिल्ला प्रहरी कार्यालयको पहलमा काम भईरहेको उनले बताए ।

सम्मान पछि बोल्दै पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नारायण कोइरालाले व्यावसायीको हकहितका लागि पोखरा महानगरसँग हरेक कार्यक्रममा सहकार्य गर्दै जाने बताए ।

पोखरा महानगरले पनि उद्योगी व्यावसायीका समस्या समाधानमा लचिलो भएर काम गरिदिन उनले आग्रह गरे । उद्योगी व्यावसायीहरुको धेरै समस्या रहेको हुनाले महानगरले गरेर हुने ठाँउमा जति सक्दो छिटो काम गरि दिने उनको विश्वास छ ।

वडा सदस्य पुष्कर बहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रममा वडा सचिव रामबहादुर खत्रीले स्वागत गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese