no comments

सांसद मीना गुरुङद्वारा जन्मदिनमा सडक बालबालिकालाई ट्रयाकसुट

पोखरा, १३ असोज / गण्डकी प्रदेश सांसद मीना गुरुङले आफ्नो जन्मदिन सडक बालबालिकालाई ट्रयाकसुट वितरण गरी मनाएकी छन्। पोखराका सडकमा भेटिएका बालबालिकालाई पोखरा महानगरले संरक्षण गर्दै आएकोमा उनीहरुलाई सोमबार सांसद गुरुङले कास्कीको ढिकुरपोखरीमै पुगेर १८ थान ट्रयाक सुट वितरण गरेकी हुन्।

हङकङ व्युटी इन्स्टिच्युट संचालक एवं राष्ट्रिय सौन्दर्यकर्मी युनियनका संस्थापक अध्यक्ष समेत रहेकी सांसद गुरुङले आफ्नो जन्मदिन अवसरमा समाजमा थोरै भएपनि केही गरौं भन्ने निःस्वार्थ भावले बालबालिकाहरुको लागि ट्रयाकसुट सहयोग गरेको जनाइन्। उनले सडक बालबालिकारुको रेखदेख जिम्मा सरकार र सरोकारवाला निकायले गर्ने भन्दै आफ्नो उज्ज्वल भविष्यका बारेमा मात्र सोच्न आग्रह गरिन् ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले जनप्रतिनिधिले आफ्नो जन्मदिनमा सामाजिक कार्य गर्नुले समाजमा सकारात्मक सन्देश गएको बताए । राष्ट्रिय सौन्दर्यकर्मी युनियन अध्यक्ष सुमन गुरुङले सांसद गुरुङले यसअघि पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताइन् ।

सांसद गुरुङले आफूले प्राप्त गर्ने तलब भत्ताबाट सामाजिक सेवामा सहयोग गर्दै आएकी छन्। लकडाउन बेला पोखरा महानगरपालिकाले पोखरा सडकमा भेटिएका बालबालिकालाई अन्नपूर्ण–१ स्थित लेवाडेमा चिल्ड्रेन नेपालको भवनमा व्यवस्थापन गर्दै आएको चिल्ड्रेन नेपालका निर्देशक रामचन्द्र पौडेलले बताए । हाल त्यहाँ ११ जिल्लाका ३ बालिकासहित १८ जना छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese