no comments

स्वास्थ्य प्रति सचेत भएर दसैं मनाउन मेयर जिसीको आग्रह, कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई

पोखरा, २५ असोज/ गत साउन १ गते बिरामी हुनु भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सोमबार कार्यालय आउनुभएको छ । मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं जानु भएका प्रमुख जिसी शनिबार पोखरा आउनु भएको हो । सोमबार कार्यालय पुगेर प्रमुख जिसीले नेपालीहरुको महान पर्व दसैं लगायत अन्य चाडपर्वहरुको अवसरमा नगरवासी तथा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन आग्रह गर्नुभएको छ । ‘चाडपर्वहरु अर्को वर्ष पनि आउँछन्,’ जिसीले भन्नुभयो,‘स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन आग्रह गर्दछु ।’ उहाँले स्वास्थ्यमा कुनै समस्या भएमा महानगरका स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा स्वास्थ्य जाँच गराउन आग्रह गर्नुभएको छ ।

जिसीले आफ्नो स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा आभार व्यक्त गर्नुभएको छ । उपचारमा सम्लग्न चिकित्सक लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा धन्यवाद दिनुभएको छ । करिब १ घण्टा कार्यालयमा रहनु भएका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई अनुरोध गर्नुभएको छ । आफू पनि पूर्ण रुपमा निको भएर छिट्टै काममा फर्किने विश्वास जिसीले त्यस अवसरमा व्यक्त गर्नुभयो ।

कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई

महानगर प्रमुख जिसीले उपप्रमुख मञ्जुदेवी गुरुङलाई कार्यवहाक प्रमुखको जिम्मेवारी दिनु भएको छ । जिसीले कार्यालय नआउँदासम्म कार्यवहाक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई दिनुभएको हो ।

महानगर प्रमुख जिसी कार्यालयमा पुग्दा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, सचेतकद्वय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रवक्ता धनबहादुर नेपाली, वडाअध्यक्षहरु तथा विभिन्न महाशाखा प्रमुख तथा कर्मचारीहरुले पुष्ष्पगुच्छासहित स्वागत गर्नुभएको थियो ।

 

TechSansar.com - Technology Navigator website for Nepalese