no comments

एमाले खुत्रुकेका रूपमा नबुझ्न ओलीको चेतावनी, पाँचै दल एकैचोटी आऊः ओली

पोखरा, १३ फागुन/ नेकपा एमालेलाई खुत्रुकेका रूपमा नबुझ्न एमाले अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका छन् । पोखरामा शुक्रबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै नेता ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई एमालेलाई चाहीदा मात्रै प्रयोगमा ल्याउने खुत्रुके नबुभ्न चेतावनी दिए । घर–घरमा पैसा सकिँदा खुत्रुके फुटाएर काम चलाउने चलन रहेको प्रसंग निकाल्दै ओलीले एमालेलाई त्यतै नठान्न बताए ।

अध्यक्ष ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर ढुंगा हान्न लगाएको बताए । कार्यकर्ता पठाएर सडक भत्काउन र ढुंगा हान्न लगाएको बताए । एमसीसी सहयोग नेपालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिंड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् । ‘एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिंड्दा ढुंगा हानिंदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिंदैन । टेबल गरेका छन् सभामुखले, ढुंगा हानिंदैन ।’ ओलीले भने तर म बाटो हिड्दा भने ढुंगा हान्छन् ।

एमाले पदका लागि मरिमेट्ने पार्टी नभएको ओलीले दाबी गरे । आफू नेतृत्वको सरकार ढालेर प्रचण्ड र माधव नेपालले जनतालाई धोका दिएको उनले दाबी गरे। उनीहरू दक्षिणपन्थी सरकार बनाउन गएको भन्दै उनले झिंगाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरे ।

ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई ७ दिन उठ्नै नसक्ने गरी पछार्ने दाबी गरे । ओलीले आफूहरु एकैचोटी ५ दलको गठबन्धनसँग नै चुनाव लड्न चाहेको बताए । ‘एउटा यता छ, अर्को उता छ । लड्न आमन्त्रण गर्दा वान बाइ वान भनिन्छ नि । हामी त्यस्तो गर्दैनौं,’ ओलीले भने, ‘वान बाइ वानवाला होइन, ५ दललाई एकमुण्ट बोलाउँछौं । आउ, पाँचै दल एकैचोटी आऊ ।’ एमाले अध्यक्ष ओलीले वैशाख ३० गते एक झड्कामा गठबन्धनलाई ७ दिन उठ्नै नसक्ने पछार्ने दाबी गरे ।

ओलीले आफूले सरकार छोडेपछि बनेको सरकारले विकासको कुरै नगरेको दाबी गरे, भने— ‘हामीले सरकार छाडेपछि तपाईंहरूले विकासको कुरा सुन्नुभो त ? कुरा त केबल गठबन्धनको हुन्छ । गठबन्धन छुट्नु हुँदैन भन्छन् । रहनैपर्छ भन्छन् । विकास, समृद्धि र सुशासनको त कुरै छैन ।’

नेता/कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गर्दै ओलीले एमाले खोला नभइ नदी भएको बताए । ‘एमाले सधैँ आउनुस् मिलेर जाउँ भन्छ,’ ओलीले भनेका छन्, ‘किन एमाले यसो भन्छ भन्दाखेरि देश बनाउनलाई, आफू मोटाउनलाई होइन । एमाले खोला–खोल्सी होइन नदी हो । नदी कहीँ पनि एकैठाउँबाट पैदा हुँदैन । यो थोपा–थोपा, खोल्सा–खोल्सी, खोलाहरू मिलेर नदी बन्ने हो । एमाले यही नदी हो ।’

 

TechSansar.com - Technology Navigator website for Nepalese