no comments

गण्डकी प्रदेशका जाती, नृत्य र बाजाको बारेमा अनुसन्धान हुँदै

पोखरा, १ माघ/ गण्डकी प्रदेशका जाती, नृत्य र बाजाको बारेमा अनुसन्धान हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने सो अनुसन्धान कार्यको लागि १४ जना अनुसन्धानकर्ता छनोट भएका छन् ।

यसरी छनोट भएका अनुसन्धानकर्ता मार्फत पहिलो चरणमा प्रदेशका १४ जाती, हरेक जातीका ३ लोक नृत्य गरेर ४२ लोक नृत्य तथा हरेक जातीका ५ बाजा गरेर ७० वटा बाजाको अनुसन्धान गर्नेगरी प्रतिष्ठानले काम अगाडि बढाएको हो ।

अनुसन्धान गर्न छनोट हुनुभएको अनुसन्धानकर्तामा थकाली जातीको लागि ज्योति भट्टचन, कुमाल जातीको लागि इश्वर कुमाल, छन्त्याल जातीको लागि हरिचन छन्त्याल, माझी जातीको लागि नम्रता केसी, गुरुङ जातीको लागि तेज बहादुर गुरुङ, मगर जातीको लागि मनोज घर्ती मगर, थारु जातीको लागि डा. विष्णु कुमार सिञ्जाली रहनुभएको छ ।

यसैगरी दरै जातीको लागि राज कुमार दरै, तामाङ जातीको लागि कुमार तामाङ, दुरा जातीको लागि लाल बहादुर भुजेल, ब्राम्हण तथा क्षेत्री जातीको लागि खगराज शर्मा, नेवार जातीको लागि रमेश लिगल, दमाई जातीको लागि बसन्त खनाल र गन्धर्व जातीको लागि डा.तुलसी राम खनाल अनुसन्धानकर्ताको रुपमा छनोट हुनु भएको छ ।

प्रतिष्ठानले खुल्ला रुपमा अनुसन्धानकर्ताको आव्हान गरेकोमा आवेदन दिने १७ जना मध्येबाट १४ जना छानिनुभएको सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । अनुसन्धान कार्य माघ १ गतेबाट सुरु हुनेछ ।

यसरी छनोट भएका अनुसन्धानकर्तासँग पोखरामा शुक्रबार परिचय तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले गण्डकी प्रदेशका ११ जिल्लाका स्थापित जाती विस्थापित भाषा साथै बाजा नृत्यको बारेमा तत्स्थानमा गएर बस्तुगत अध्ययन गर्नका लागि अनुसन्धानकर्ता खटाएको बताउनुभयो ।

उहाँले अनुसन्धानकर्तालाई प्रमाण सहित अनुसन्धान गर्न निर्देशन समेत दिनुभयो । ‘तपाईहरुले संकलन गरेका जानकारीलाई विज्ञ मार्फत सम्पादन गरिने भएकोले प्रमाण सहित अनुसन्धान गर्नुहोला’उहाँले भन्नुभयो ।

प्रतिष्ठानका उपकुलपति तथा अध्ययन अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा स्वतन्त्र पत्रकार संघका संस्थापक अध्यक्ष कृष्ण प्रसाद बाँस्तोला, पत्रकार मन क्षेत्री, अनुसन्धानकर्ता डा.तुलसीराम खनाल, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डिल कुमारी पौडेल, सदस्य सचिव मनकुमार क्षेष्ठले अनुसन्धान प्रक्रियाका विभिन्न पाटोको बारेमा बोल्नुभएको थियो ।

अध्ययन अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङले अनुसन्धानकर्ताले आगामी चैत्र ३० गते भित्रमा अनुसन्धान प्रतिवेदन सहितको सामाग्री बुझाउनुपर्ने गरेर समय निर्धारण गरिएको जानकारी दिनुभयो । अनुसन्धानकर्ता छान्ने क्रममा सम्बन्धित जातीकोलाई प्राथमिकता दिएर छानिएको उहाँले प्रष्ट्याउनुभयो ।

अनुसन्धानकर्ता मार्फत अक्षर र भिडियो समेतका जानकारीहरु संकलन गरिने गुरुङको भनाई छ । ‘अनुसन्धानकर्ता मार्फत अक्षर र भिडियो समेतको जानकारी संकलन गरिनेछ, भिडियो लाइवेरिमा राखिनेछ । बाजा, जाती तथा नृत्यको बारेमा पुस्तक प्रकाशन हुनेछ’उहाँले भन्नुभयो ।

यसरी अनुसन्धान गरिएको सामाग्री समेटेर विद्यालयको लागि स्थानिय पाठ्यक्रम निर्माण गर्ने प्रतिष्ठानको तयारी छ । ‘प्रतिष्ठानले अनुसन्धानमुलक काम गर्न जरुरी छ । खोज अनुसन्धान गरेर लाइवेरीमा भण्डारण गरेर राख्ने हो । स्थानिय पाठ्यक्रम समेत निर्माण गर्नेछौ’उहाँले थप्नुभयो ।

यो वर्ष १४ वटा जाती छनोट गरिएपनि बाँकी जातीलाई क्रमैसँग अर्कोवर्ष छनोट गर्दै अनुसन्धान गरिने सदस्य सचिव मनकुमार श्रेष्ठले बताउनुभयो । पहिलोपटक अनुसन्धान गर्न लागेकोले यसको अनुभवबाट अर्को वर्ष थप व्यवस्थित बनाउने प्रतिवद्धता उहाँले जनाउनुभयो ।

TechSansar.com - Technology Navigator website for Nepalese