no comments

प्रतिष्ठान प्रदेशको लोकदोहोरी प्रतियोगितामा बागलुङ विजयी

पोखरा, १ चैत/ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको सम्पन्न लोकदोहोरी प्रतियोगितामा स्याङजालाई हराउँदै बागलुङ विजयी भएको छ ।

शनिबार पोखरा पर्यटन बोर्डको सभाहलमा भएको फाइनलमा प्रतिष्ठान स्याङजाका प्रकाश पराजुली र सपना रोकाको टीमलाई बागलुङका प्रतिस्पर्धी सुमन खड्का र शर्मिला विसीको टिमले हराएका हुन् ।

प्रतियोगिता जित्दै बागलुङले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार हात पारेको छ । उपविजेता बनेको स्याङजाले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउनु पर्यो ।

तृतिय स्थान प्रतिष्ठान लमजुङले हात पार्यो । पुरस्कार स्वरुप उसलाई ३३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरियो । लमजुङका लागि प्रशान्त तामाङ र प्रिती गिरीको टिम प्रतिस्पर्धामा उत्रिएका थिए । लमजुङले तनहुँलाई पराजित गरेको थियो । तनहुँले सान्तवना पुरस्कारमा चित्त बुझाउनु पर्यो । उसलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरियो ।

गण्डकी प्रदेशका ९ जिल्ला कास्की, तनहुँ, लमजुङ, स्याङजा, बागलुङ, पर्वत ,म्याग्दी, गोरखा र नवलपुर जिल्लाबिच भएको प्रतिस्पर्धामा उत्कृष्ट गायक गायिकाको पुरस्कार गोरखाका चित्र गुरुङ र देवी आलेले हात पारे । अनुशासित गायकमा उमेश अधिकारी र हिरण थापामगरलाई पुरस्कार प्रदान गरियो । हाउभाउ सहितको मौलिक प्रस्तुतिमा सिमा शाही र हिरा किसान अब्बल ठहरिए ।

लोक दोहोरी गीत प्रतिष्ठान नेपालको स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको मुख्य निर्णायकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी थिए । जुरी निर्णायकको संयोजकमा प्राज्ञ प्रजापती पराजुलीलाई जिम्मेबारी दिइएको थियो । सदस्यहरुमा पुरुषोत्तम न्यौपाने र शान्ती गुरुङ रहेका थिए ।

यसअघि जिल्ला जिल्लामा प्रतियोगिताको आयोजना गरिएको थियो । जिल्लामा भएको प्रतिस्पर्धाबाट विजयी भएर आएका टिमबीच पोखरामा प्रतिस्पर्धा भएको हो ।

यसअघि प्राविधिक निर्णायकका संयोजक तथा प्रतिष्ठान नेपालका केन्द्रिय सचिव जीवन दाहाल र सहसंयोजक प्रतिष्ठान गण्डकीका संस्थापक अध्यक्ष शंकर विरही गुरुङको टीमले निर्णायकको भूमिका निर्वाह गरेको थियो । जसमा सरला पाण्डे, तारानाथ आचार्य, चोलेन्द्र पौडेल, तारापती सुवेदी र पार्वती जिसी लगायतले जिम्मेबारी पाएका थिए ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको विशेष सहयोगमा आयोजित प्रतियोगितालाई उद्घाटन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गण्डकी प्रदेश लोकगीतसंगीतको उर्वरभूमी भएकाले यसको संरक्षणमा प्रतिष्ठानसँगै हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सुरेन्द्र गुरुङ नेतृत्वको प्रतिष्ठानले उल्लेखिय काम गरेको बताउँदै गण्डकी प्रदेशका लोकदोहोरी कलाकारको हित हुने गरी प्रदेशले आगामी योजना बनाउनेमा विश्वस्त हुन उनले आग्रह गरेका छन् । प्रतिष्ठानसँग निकट सम्बन्ध रहेको बताउँदै प्रतिष्ठान गण्डकीको भवन निर्माणको कार्यमा समेत आफुले सक्दो प्रयास गर्ने उनको भनाई थियो ।

कार्यक्रममा लामो समय देखि लोकदोहोरी क्षेत्रमा क्रियाशिल भूमिका निभाएको भन्दै अम्मर धिताल र बागलुङका रेवती पौडेललाई सम्मान गरिएको थियो । यस्तै, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, भुमी सम्बन्धी आयोग कास्कीका संयोजक दामोदर वैरागी, कल्याणकारी कोषमा सहयोग गर्ने पूर्व सल्लाहकार भीम भट्टटाईलाई समेत सम्मान अर्पण गरिएको थियो ।

कार्यक्रममा चर्चित कलाकार गायक रामजी खाँडले प्रस्तुति राखेका थिए । वरिष्ठ उपाध्यक्ष पूर्ण परियारले स्वागत गरेको कार्यक्रमलाई सचिव राजन कार्कीले संचालन गरेका थिए । कार्यक्रमको समापन लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese