no comments

पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा २३६५ मत खस्यो, मतगणना आइतबार

पोखरा, २५ पुष/ पोखरा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनमा २ हजार ३ सय ६५ मत खसेको छ ।

संघको ३३ औं महाधिवेशन मार्फत नयाँ नेतृत्वका लागि विहान १० बजेदेखि अपराह्न ४ बजेसम्म भएको मतदानमा ७४.९८ प्रतिशत मत खसेको निर्वाचन समितिका संयोजक तिर्थ श्रेष्ठले जानकारी दिए ।

मतदानको मतगणना आइतबार विहान ८ बजेदेखि हुने निर्वाचन समितिले जनाएको छ । मतदाता उद्योगी/व्यवसायीहरुले दिनभर लाईनमा बसेर मतदान गरेका थिए । संघको नयाँ नेतृत्वका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष नारायण कोईराला र वर्तमान उद्योगतर्फकी उपाध्यक्ष विन्दु कोईराला सुवेदी प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए ।

संघको उद्योग उपाध्यक्षमा कोईराला प्यानलबाट चिनुकमारी गुरुङ र गोकर्ण कार्की चुनावी मैदानमा छन् । वाणिज्य तर्फको उपाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान महासचिव अर्जुन पोखरेल उमेदवार छन् सुवेदी प्यानलबाट वर्तमान कार्यकारिणी सदस्य सोवित पौडेल उमेदवार छन् ।

संघको महासचिवमा कोईराला प्यानलबाट वर्तमान कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे र सुवेदी प्यानलबाट धनीराम बराल उमेदवार बनेका छन् ।

उपमहासचिवमा कोईराला प्यानलबाट वर्तमान सदस्य केशवबहादुर खत्री र सुवेदी प्यानलले गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौला, कोषाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान सदस्य बलराम आचार्य तथा सुवेदी प्यानलबाट वर्तमान सदस्य तारानाथ ढुंगाना उमेदवार छन् ।

संघको सदस्यका लागि कोईराला प्यानलबाट कुमारी मुना बास्तोला, दीनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइराला रहेका छन् ।

सुवेदी प्यानलबाट सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम, उत्तम सेवक कार्कीले उमेदवारी दिएका छन् । १० खुल्ला सदस्यमा ४ जनाको मात्रै उमेदवारी रहेको छ भने वस्तुगत र एशोसियट सदस्यतर्फ भने यो प्यानलबाट उमेदवारी घोषणा भएको छैन ।

संघको बरिष्ठ उपाध्यक्षमा वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष पवन प्रजापति निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै, एशोसियट सदस्यमा कोइराला प्यानलबाट उमेदवार भएका हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) निर्विरोध चयन भइसकेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese