पोखरामा दुर्घटनामा ज्यान गुमाएका प्रहरीलाई श्रद्धाञ्जली

पोखरामा दुर्घटनामा ज्यान गुमाएका प्रहरीलाई श्रद्धाञ्जली

पोखरा, ४ भदौ / पोखरामा दुर्घटनामा परेर ज्यान गुमाएका दुई प्रहरीलाई शोक सलामी दिदै श्रद्धाञ्जली दिएका छन् ।

प्रहरी हवल्दार डम्बर बहादुर थारु र चन्द्रबहादुर बगालेको पार्थिव शरीरलाई प्रहरीले शोक सलामी दिए भने सहकर्मी फुलचढाएर श्रद्धाञ्जली अर्पण गरे ।

वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरीद्वय बर्दियाका थारु र पाल्पाका बगालेको मंगलबार राति दुर्घटनामा परेर ज्यान गएको थियो ।

सलामी तथा श्रद्धाञ्जली अपर्ण कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले इमान्दार र कर्तव्यनिष्ट प्रहरी जवानलाई गुमाउनुको पीडा जीवनभरी रहने बताए ।

थारु र बगालेको निधनले प्रहरी संगठनमा ठूलो क्षति पुगेको उनको भनाई थियो । अर्यालले दुर्घटनामा ज्यान गुमाएका दुवै प्रहरीको पार्थिव शरीरमा नेपाल प्रहरी संगठनको झण्डा ओढाउनुका साथै पुष्पगुच्छा अर्पण गरेका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ लगायतले श्रद्धाञ्जली व्यक्त गरे ।

श्रद्धाञ्जली कार्यक्रममा मृक्तक प्रहरीको सम्मान स्वरुप एक टुकडीले शोक सलामी अर्पण गरेका थिए । मंगलबार राति डिउटीमा रहदा सवार ग१ब ३६९ नम्बरको मोटरसाइकललाई ग २ च २६२६ नम्बरको बोलेरो जिपले पछाडिबाट ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो ।

Editor: