तमु ल्होसारको मुख्यमन्त्री गुरुङ शुभकामना

पृथ्वीसुब्बा गुरुङ

पोखरा, १५ पुष/ तमु ल्होसारको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना दिएका छन् । तमु (गुरुङ) समुदायको पर्व तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सु(स्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

तमु (गुरुङ) भाषामा ल्होसार भनेको नयाँ वर्ष हो। तमु (गुरुङ) समुदायको प्राचिन पात्रो अनुसार पुष १५ गते मनाउने यस पर्वले गुरुङ समुदायको नयाँ वर्ष सुरु भएको संकेत गर्दछ ।

परम्परा देखि नै ल्होसारको दिन भन्दा अघिल्लो साँझ देखि नै यस पर्व मनाउन सुरु गरिन्छ।साँझ पूजापाठ, भोजभतेर र नाचगान गरि आधा रातमा नयाँ वर्ष आयो भन्दै नयाँ वर्षलाई स्वागत गर्ने र ल्होसारको दिन बिहान देखि नाता कुटुम्बलाई बोलाएर भोज खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने प्रचलन रहिआएको पाइन्छ।

साँस्कृतिक परम्पराका धनी नेपालका तमु (गुरुङ) समुदायले सदियौं देखि आफ्नो रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै आइरहेको सन्दर्भमा तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व राख्‍ने विश्वास लिएको छु।

साथै किराँत धर्मावलम्बीहरुको उधौंली पर्व तथा नेवार समुदायको योमरी पुन्हिको उपलक्ष्यमा समेत सवैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलव्धी हुन्‌ । बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एबं भौगोलिक बिबिधताले भरिपूर्ण हाम्रो देश संबिधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त

धार्मिक एवं साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत वनाउन महत्वपूर्ण योगदान दिँदै आएका छन्‌। यस्ता पर्वले पनि विविध धर्म सँस्कृति मान्ने सम्पूर्ण नेपालीका वीच आपसी सद्‍भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु।

यी पर्वले सवै नेपाली बीच बन्धुत्व, प्रेम र एकताको भावना वढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल निर्माणका लागि सवैमा प्रेरणा प्रदान गर्न सकुन् भन्ने कामना गर्दछु।

Editor: