पोखरा, ३ असार/ अविरल वर्षाका कारण मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रा.लिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको आयोजनाले जनाएको छ ।
कास्कीको मादी गाउँपालिका–१ स्थित मदक्यू खोलामा १३ मेगावाट क्षमताको सो आयोजनामा असार १ गते आएको बाढीले १४ किलोमिटर ट्रान्समिसन लाइन लगायतका अन्य संरचनामा क्षति पुग्दा विद्युत उत्पादन बन्द भएको छ ।
बाढीले आयोजनाको ‘स्विचयार्ड’ बगाएको छ भने बाँधमा व्यापक क्षति पुगेको सञ्चालक किरण केसीले जानकारी दिए । आयोजनाको इलेक्ट्रिक मेकानिकल सिभिल संरचना, विद्युत प्रशारण लाइन लगायतमा क्षति हुँदा ३० करोड बढीको क्षति भएको उनको दावी छ ।
त्यस्तै आयोजनाको पावर हाउसमाथिबाट अझैपनि पहिरो खसिरहेकाले पावर उच्च जोखिममा रहेको उनले बताए ।
सञ्चालक केसीले भने, ‘आयोजनामा बाढीले व्यापक क्षति गर्दा वर्षाको समयमा पुनः सञ्चालनमा ल्याउन थप चुनौती थपिएको छ, आयोजनालाई पहिलाकै अवस्थामा ल्याउनका लागि करिव वष दिनसम्म लाग्न सक्छ ।’
आयोजनासम्म जाने सडक ठाउँ–ठाउँमा बाढीले बगाउँदा सामान ढुवानी गर्न समेत कठिन हुने देखिएको छ । गत २०७४ चैतबाट केन्द्रिय प्रशारण लाइनमा जोडिएको आयोजनामा बाढीले क्षति पुर्याउँदा कास्कीको मादी गाउँपालिका वडा १ सिक्लेसका बासिन्दा अध्यारोमा बस्न बाध्य छन् । सिक्लेसमा केन्द्रिय प्रशारण लाइनको हालसम्म पनि पहुँच पुग्न सकेको छैन् ।
सोही बाढीका कारण मदक्यू खोला जलविद्युत आयोजना सहित अन्य तीन वटा आयोजनामा समेत क्षति पुर्याएको छ ।
स्थानियबासी ६४ वर्षिय कुलबहादुर गुरुङले भने –‘बाढीले सिक्लेस हाइड्रो पावर त बगायो–बगायो हामीलाई कहिलेसम्म अन्धकारमा राख्ने हो थाह भएन, यति धेरै पानी र बाढी आएको अहिलेसम्म थाहा थिएन् ।’ आयोजना बन्द हुँदा दैनिक साढे १२ लाख घाटा हुने पुगेको आयोजनाले जनाएको छ ।