पोखरा, २५ कात्तिक / लेकसाइडको हल्लनचोक देखी जिरोकिलोमीटर, हल्लनचोक शहिदचोक हुँदै मुस्ताङचोक सम्मको अमेरिकी अस्फाल्ट प्रविधिको प्रयोग सडक कालोपत्रे हुनेभएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले मंगलबार काम शुरु गरे ।
मन्त्री बस्नेतले गण्डकी प्रदेश अहिले समग्र विकासका योजनालाई अगाडी सार्दै अघि बढिरहेको बताए । आर्थिक समृद्धितर्फ जान यस्ता विकासका आयोजना अनिवार्य रहेको उनको भनाई थियो । कुनै पनि आयोजना गुणस्तरिय नभए अयोजना सम्पन्नको अर्थ नहुने भएकाले सबै जनता आफै सजग भएर खबरदारी गर्नुपर्नेमा उनको जोड थियो ।
त्यस्तै गण्डकी प्रदेशमा सांसद् राजिब पहारीले प्रदेशमा विकासको लहर ल्याएको बताए । विकासका योजनामा प्रदेश सरकार सधै जनताको साथमा रहेको समेत उनको जोड थियो । प्रदेशमा सडकमात्र नभई समग्रक्षेत्रको विकासतर्फ अग्रसर रहेको उनको दावी थियो ।
त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगतबहादुर पहारीले बाटोघाटो विकासको मुल आधार भएकाले यो आयोजनाले वडावासीमा फरक खुशी ल्याउने विश्वास व्यक्त गरे ।
९ करोड ७८ लाख १३ हजार ६ सय ६८ रुपैयाँमा बन्न लागेको यो कालोपत्रे सडकमा भौतिक पूर्वाधार विकास कार्यालय गण्डकीले खर्च गर्नेछ । इलाईट मोतिदान जेभिले पाएको निर्माणको जिम्मा आगामी पुष २५ गतेसम्म सक्नुपर्ने सहमति छ ।
करिब ५ किलोमिटर लम्बाई रहेको उक्त सडकमा ५ सेन्टीमिटरको मोटाईको कालोपत्रे हुनेछ । यही प्रविधिबाट पोखरा महानगरपालिले पनि अन्य ठाउँमा सडक पिच गर्दैछ ।