विश्वासको मत नपाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

पृथ्वीसुब्बा गुरुङ

पोखरा, २७ जेठ/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका छन् ।

आज प्रदेशसभामा भएको मतदानमा नेकपा एमालेका २७ जनाले मात्रै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत दिएका छन् भने विपक्षमा ३० मत खसेको छ ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले मतदान गरेनन् भने स्वतन्त्र सांसद राजीब गुरुङ (दिपक मनाङे) संसदमा नै गएनन् ।

बैठकमा ५८ जना सांसद उपस्थित भएका थिए भने १ जनाले मतदान गरेनन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए ।

नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरे ।

१६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको छ ।

उपधारा ५ मा भनिएको छ, उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।

Editor: