पोखरा पर्यटन परिषद्ले चीनबाट अत्यावश्यक स्वास्थ्य उपकरण सहितका सामग्री ल्यायो

पोखरा पर्यटन परिषद्ले चीनबाट अत्यावश्यक स्वास्थ्य उपकरण सहितका सामग्री ल्यायो

पोखरा, १५ जेठ/ पोखरा पर्यटन परिषदले चीनबाट कोरोना संक्रमितको लागि अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहित आवश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

कोरोना महामारीको अवस्थामा मानवीय सेवालाई केन्द्रविन्दुमा राख्दै परिषद्को नेतृत्वमा उक्त सामग्री छिमेकी मुलुक चीनबाट आयात गरीएको अध्यक्ष गोपीबहादुर भटटराईले जानकारी दिनुभयो । “अहिलेको अवस्था निकै जटिल छ, मानव जीवन रक्षार्थ हामीले अत्यावश्यक स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री नेपाल ल्याएका हौ ” भट्टराईले भन्नुभयो ।

भट्टराईका अनुसार करिब ११ लाख मुल्य बराबरको उक्त सामग्री खरीदका लागि परिषदमा आवद्ध पर्यटन व्यवसायी संघसंस्था र अन्य पर्यटन व्यवसायीहरुले आर्थिक सहयोग गरेका थिए ।

विशेष गरी कोभिड १९ का विरामीलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि अत्यावश्यक कोभिड अक्सिजन कन्सन्ट्रेटेड मेशिन ६ थान सहित अक्सिजन मेशिन (१० लिटर) चार थान, पिपिइ सेट पाँचसय थान, पञ्जा एकहजार पिस, मास्क १० हजार पिस स्वास्थ्य सामग्री ल्याउन लागिएको परिषदका महासचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो । नमस्ते कम्यूनिटी फाउण्डेशन दुई थान अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहयोग गरेको हो ।

शर्माले उक्त सामाग्री जेठ १६ गते आइतबार मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ्गज्यूको प्रमुख आतिथ्यतामा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, मातृशिशु तथा मितेरी अस्पताल र सरुवा रोग तथा संक्रमण रोग अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

Editor: