पोखरामा युवकमाथि गोली प्रहार गरी फरार व्यक्ति पक्राउ

राजकिशोर पाण्डे

पोखरा, ३० चैत/ पोखरामा १७ महतगौंडामा एक युवकमाथि गोली प्रहार गरी फरार व्यक्ति कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखराको महतगौंडामा गत माघ २३ गते गोली हानी फरार रहेका बारा बरियापुर नगरपालिका ४ पिपराबृताका ४५ वर्षीय राजकिशोर पाण्डेलाई आइतबार प्रहरीले पोखराको सिमपानीबाट पक्राउ गरेर सार्वजनीक गरेको छ ।

घाम २३ गते पोखरा १७ महतगौँडा नोलौ घुम्ती नजिक पवर्तका २७ वर्षीय मनोज बिकलाई अपरिचित व्यक्तिले गोली हानी घाइते बनाएको थियो । प्रहरीले अनुसन्धान पश्चात हुलियाका आधारमा खोजतलास गर्ने क्रममा पक्राउ गरेको कास्की प्रहरी प्रमुख, एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

घाइते बिकले दिएको हुलियाको आधारमा प्रहरीले बाराको पिपराबृता घर भई पर्साको विरगंज आदर्शनगरमा अस्थायी रुपमा बस्दै आएका पाण्डेलाई हालसालै पोखरा आउनासाथ पक्राउ गरिएको एसपी श्रेष्ठले बताए ।

एसपी श्रेष्ठका अनुसार प्रहरीले पाण्डेको साथबाट ३ राउण्ड गोली समेत फेला पारेको छ । पाण्डे अन्य आपराधिक घटनामा समेत संलग्न भएको आशंकामा थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए । पोखरामा मेटलमा काम गरी बस्ने पाण्डे घटना पश्चात फरार थिए ।

वायरिङ सम्बन्धी काम गर्ने बिक गोली लागि घाइते भए पश्चात मोटरसाइकलमै वडा प्रहरी कार्यालय बैदाम पुगेर घटनाबारे जानकारी दिएका थिए ।

प्रहरीले तत्कालै उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगेकोमा अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । बिकको दाहिने कोखामा अगाडिपट्टी प्वाल परी पछाडि ढाडको भागमा समेत चोट देखिए छ ।

Editor: