कांग्रेस महाधिवेशनः कास्कीको माछापुच्छ्रेमा वीरेन्द्र निर्वाचित, पोखरा र मादीको मतगणना जारी

नेपाली काग्रेस

पोखरा, ९ असोज/ नेपाली कांग्रेसको पालिकास्तरीय अधिवेशनमा कास्कीको अन्नपूर्ण र रुपा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने तीनवटा पालिकामा मतदान भएको छ ।

पोखरा महानगरपालिका, मादी र माछापुच्छ्रेमा मतदान भएको हो । माछापुच्छ्रेको शनिबार अबेर सकिएको मतगणना अनुसार वडाध्यक्ष समेत रहेका वीरेन्द्र गुरुङ सभापतिमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी मधुसुदन अधिकारीलाई १५ मतअन्तरले पराजीत गरी गुरुङ विजयी भएका हुन् । प्यानल नै लिएर चुनावमा गएका दुई समूहबाट कार्यसमितिमा भने एकलौटी नतिजा आएन ।

उपसभापतिमा अधिकारीको प्यालनबाट रामबहादुर गुरुङ र मिनबहादुर गुरुङ, सचिवमा केशवराज अधिकारी र सञ्जय लम्साल तथा सहसचिवमा बालकृष्ण गौतम र महादेव गुरुङ निर्वाचित भए । सहसचिव गुरुङ भने विरेन्द्र प्यानलका हुन् । त्यस्तै अन्य सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् ।

रुपा गाउँपालिकामा भने विमलबाबु न्यौपानेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको छ भने अन्नपूर्णको नेतृत्वमा मनपति भण्डारी चयन भएका छन् । मादीमा भर्खरै मतदान सुरु भएको छ । यामबहादुर गुरुङ र देवीजंग गुरुङ प्रतिस्पर्धामा छन् ।

पोखरा महानगरपालिकामा ६ जना सभापतिका उम्मेदवार छन् भने उपसभापतिमा ६ जना, सचिवमा ३ जना, सहसचिवमा ७ जना चुनावी मैदानमा छन् । महानगरको मतगणना जारी छ ।

Editor: