पोखरा, ८ माघ / पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले सहमति जनाएका छन् ।
पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको सम्मानमा पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन संघ कास्कीले बिहीबार गरेको स्वागत कार्यक्रममा उनीहरुले सो सहमति व्यक्त गरेका हुन् ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले औद्योगिक, कृषि र आवास क्षेत्रको वर्गीकरणमा सरकार चुक्दा विभिन्न समस्या आएको बताएका छन् । हिजो औद्योगिक क्षेत्र खाली क्षेत्रमा बनाइएको तथ्य पेश गर्दै उद्योगले रोजगारी दिँदा नै सो क्षेत्रमा बस्ती बढेको जिकिर पनि गरे ।
उनले औद्योगिक क्षेत्रले पोखराको विकासमा दिएको योगदानलाई नजरअन्दाज नगर्न सबैसँग आग्रह पनि गरे । उनले पोखराको कोत्रेमा प्रस्तावित नयाँ औद्योगिक क्षेत्र स्थापनाको लागि संघले सरोकारवाला निकायहरुसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघ पोखराको विकासको साझेदार भएको प्रसंग झिक्दै उनले विकास निर्माणका कामको लागि सघाउन संघ सधैँ तयार रहेको बताए ।
कार्यक्रममा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख भुषणप्रसाद उपाध्यायले पोखरा औद्योगिक क्षेत्रबाट प्रदुषण भयो भन्ने गुनासो नाजायज भएको बताउँदै उद्योगहरुले प्रदुषण नियन्त्रणमा सक्दो योगदान दिएको बताए ।
घरमा मोही पार्ने ठेकी धुँदा पनि केही प्रदुषण त हुन्छ तर त्यो प्रदुषणले खासै केही बिगार्दैन’, उनले भने,‘औद्योगिक क्षेत्रबाट निस्कने फोहर पनि ठेकी पखालेको पानीजस्तै हो ।’
पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले उद्योग र वाणिज्य क्षेत्रको विकास सँगसँगै हुनुपर्नैमा जोड दिए । पोखरा औद्योगिक क्षेत्र उद्योग संघका सल्लाहकार चन्द्रराज राजभण्डारीले उद्योगहरुको विकासको लागि आवश्यक पर्ने तालिमहरुको लागि पोखरा उद्योग वाणिज्य संघले पहल गर्नुपर्ने बताए ।
संघका अर्का सल्लाहकार तथा सिएनआईका अध्यक्ष विनोद न्यौपानेले निजी क्षेत्रको आवाज सधैँ एक हुनुपर्नेमा जोड दिए । कार्यक्रम तथा पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेशबहादुर श्रेष्ठले औद्योगिक क्षेत्रका उद्योगहरुले भोगेको समस्याबारे चर्चा गर्दै उद्योगको विकासबिना देशको विकास सम्भव नभएको बताए ।
संघका सचिव सुरेन्द्रबहादुर गोदारले पोउवा संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सहकार्यले नै सफल हुने धारणा राखे ।