पोखरा, २४ जेठ/ नेलेम्बो नेपाल कास्कीले अनलाइन पत्रकार संघ गण्डकी प्रदेशलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आइतबार नेलेम्बो नेपाल कास्कीका अध्यक्ष एकदेव देवकोटाले अनलाइन पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष कमल सुवेदीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
नेलेम्बोले डिस्पोजल मास्क २५ सय पीस, फेस सिल्ड ५० पीस, सेनीटाइजर ५० लिटर, डिस्पोजल ग्लब्स १० प्याकेट सहयोग गरेको अध्यक्ष देवकोटाले जानकारी गराए । उनका अनुसार ५२ हजार ६ सय ७० रुपैयाँ बराबरको सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।
सत्यतथ्य समाचार संकलनमा अग्र पंक्तीमा खटिने श्रमजीवी पत्रकारको स्वास्थ्य सुरक्षाको ख्याल राख्दै सहयोग गरिएको उनले बताए । स्वास्थ्य सामाग्री ग्रहण गर्दै संघका अध्यक्ष सुवेदीले कोरोना महामारीको विषम् परिस्थितिमा पत्रकारको मर्मलाई बुझ्दै स्वास्थ्य सामाग्री सहयोग गरिएकोमा नेलेम्बो नेपाललाई धन्यवाद दिएका छन् ।
उनले प्राप्त स्वास्थ्य सामाग्री अनलाइन मिडियामा काम गर्ने पत्रकारलाई वितरण गर्ने बताए । नेलेम्बोले हालसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेढ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।