गीताञ्जली साहित्य रत्न पुरस्कार प्रा.डा अधिकारीलाई

प्रा.डा नारायण अधिकारी

पोखरा, ८ चैत्र/ गीताञ्जली साहित्य परिवारले प्रदान गर्ने गीताञ्जली साहित्य रत्न पुरस्कार प्रा.डा नारायण अधिकारीलाई प्रदान गरिने भएको छ ।

प्रतिभा छनौट समितिका संयोजक डाक्टर जगन्नाथ रेग्मीको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो । पुरस्कारको राशी ११ हजार ५ सय रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । त्यस्तै बाल साहित्य पुरस्कार दिपशिखा पौडेललाई र मुक्तकमणि राष्ट्रिय पुरस्कार शंकर ज्ञवालीलाई प्रदान गरिने निर्णय समेत गरिएको छ ।

हरेक वर्ष प्रदान गरिने तीन वटै पुरस्कार यस वर्ष चैत्र १४ गते विशेष समारोहको आयोजना गरी प्रदान गरिने गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतमले जानकारी दिए । डाक्टर जगन्नाथ रेग्मी संयोजक रहेको प्रतिभा छनौट समितिमा सदस्य पत्रकार दुर्गा अधिकारी र साहित्यकार रामनाथ अधिकारी सङ्गी रहनुभएको थियो ।

गीताञ्जली साहित्य रत्न पुरस्कारबाट यसअघि डाक्टर कुसुमाकर न्यौपाने, कवि तेजनाथ घिमिरे, रुद्रबहादुर थापा मगर हितानी, तारा पाखे, शरण आसु लगायतका व्यक्तित्वहरु सम्मानित भईसक्नुभएको छ ।

२०५८ सालमा स्थापित संस्थाले भाषा साहित्य संस्कृतिको जगेर्ना गर्दै बालबालिका युवायुवती, जेष्ठनागरिकलाई समेत आफ्नो साहित्यिक प्रतिभा प्रस्तुत गर्ने अवसर समान रुपले प्रदान गर्दै आएको छ ।

संस्थाले आफ्नो स्थापनादेखि अहिलेसम्म २२० औं साधना प्रभात नियमित रचनाबाचन गर्दै आएको छ ।

 

Editor: