मनवअधिकार दिवसमा हुर्जा गण्डकीको दीप प्रज्वलन

मनवअधिकार दिवसमा हुर्जा गण्डकीको दीप प्रज्वलन

पोखरा, २५ मंसिर / ७२ औँ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर मानवअधिकार पत्रकार संघ(हुर्जा) गण्डकीले दीप प्रज्वलन कार्यक्रम पोखराको मानवअधिकारचोकमा सम्पन्न गरेको छ ।

मानवअधिकार उल्लंघन विरुद्ध सञ्चार अभियान भन्ने मूल नाराका साथ स्थापित हुर्जाले विश्वशान्तिको कामना र कोरोनाबाट दिवङ्गतप्रति श्रद्धासुमनका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्रकान्त चापागाईले मानवअधिकार दिवस मनाइरहँदा सबैले मानवअधिकारको संरक्षण र सम्वद्र्धन र सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अग्रज पत्रकार तथा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्ण प्रसाद बाँस्तोलाले मानवअधिकारको रक्षा नभए कोही कसैको पनि रक्षा हुन नसक्नेमा जोड दिनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका क्षेत्रीय प्रमुख शिव खकुरेलले नेपालमा आएका र भएका हरेक महामारी र प्राकृतिक प्रकोपका समयमा नागरिक अधिकार उल्लंघन भएको बताउँदै यस्ता अधिकारको संरक्षण गर्नुपर्नेमा राज्यलाई समय–समयमा खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

शान्तिका लागि नागरिक समाज सञ्जाल कास्कीका संयोजक विष्णु बरालले अहिलेको समयमा समाज र राष्ट्र आफैँमा अप्ठेरो अवस्थामा रहेकाले यसबाट मुक्तिका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले हुर्जा गण्डकीलाई कोरोनाको समयमा प्रयोग गरिने आवश्यक स्वास्थ्य सामाग्री हस्ताण्तरण गर्दै मानवअधिकारको विषयमा व्यक्ति स्वयं जानकार हुनुपर्ने बताउनुभयो ।

गैरसरकारी संस्था गण्डकीका अध्यक्ष विना सिलवालले मानव भएर सहज रुपमा बाँच्न पाउनुपर्नेमा जोड दिनुभयो । प्रेस युनियन नेपाल कास्कीका सभापति नविन सिग्देलले मानवअधिकारको विषय आफैँमा गहन विषय भएकाले यसलाई सँधै चिरस्थायी बनाउनुपर्नेमा जोड दिनुभयो ।

हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमको सभापतित्वमा भएको कार्यक्रममा हुर्जा गण्डकीका सल्लाहकार राजेश पराजुलीले स्वागत मन्तव्य र सञ्चालन हुर्जा गण्डकीका उपाध्यक्ष विरेन्द्र सापकोटाले गर्नुभएको थियो ।

Editor: