हर्पनखोला सिल्टेसन ड्याम बगायो, ठुलाखेतका केही घर जोखिममा

हर्पनखोला सिल्टेसन ड्याम बगायो, ठुलाखेतका केही घर जोखिममा

पोखरा, २४ असार/ पोखरा २३ डुडेको फाँटमा निर्माण भएको हर्पनखोला सिल्टेसन ड्याम गएरातिको वर्षका कारण भत्किएको छ । अविरल वर्षाका कारण राति फेवातालको मुख्यस्रोत हर्पनखोलामा निर्मित सिल्टेसन ड्याम बगाएको स्थानीय चेतबहादुर क्षेत्रीले जानकारी दिए ।

निर्माण भएको दुई वर्ष नपुग्दै ड्यामको जगदेखी नै बगाएको उनले बताए । उनले हर्पन खोला चनौटदेखी ठुलोखत तर्फ आउदा करिब १५ घर जोखिममा परेको बताए । सिल्टेसन ड्याम पिके जेभी कन्स्ट्रक्सनले निर्माण गरेको हो । अघिल्लो वर्ष खहरे खोलामा निर्माण भएको सिल्टेसन ड्याममा अघिल्लो वर्ष नै केही क्षती पुगेको थियो ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा फेवाताल संरक्षणको लागि हर्पनखोला, अँधेरीखोला, लौरुकखोला र बेतनीखोलामा ४ ठाउँमा ड्याम बनाइएको थियो । वेतयानी र लौरुकखोलामा ५० मिटर लम्बाई, ५० मिटर चौडाइ र ४ मिटर उचाइको, अँधेरीखोला र हर्पनखोलामा १ सय मिटर लम्बाई, १ सय मिटर चौंडाई र ४ मिटर उचाईको सिल्टेसन ड्याम’ बनाइएको थियो ।

पोखरा २४ स्थित वेतयानी खोलामा निर्माण गरिएको ‘सिल्टेसन ड्याम’ श्री गीता÷जयनेपाल इश्वर जेभी, स्याङ्जाले निर्माण गरेको हो । यसको लागत ५ करोड ४६ लाख ५८ हजार ९ सय ७५ रुपैयाँ, पोखरा २४ लौरुकखोलामा निर्मित ‘सिल्टेसन ड्याम’ खड्का कृष्ण÷पि.के जेभी दाङले निर्माण गरेको थियो । यसको लागत ५ करोड ७४ लाख ८४ हजार ९ सय ९८ रुपैयाँ थियो ।

पोखरा २३ र २४ मा पर्ने अँधेरीखोलामा निर्मित ‘सिल्टेसन ड्याम’पनि खड्का कृष्ण÷पि.के जेभी दाङले नै निर्माण गरेको थियो । यसको लागत ९ करोड ६ लाख ४ हजार ५ सय ५८ रुपैयाँ थियो । फेवातालको सबैभन्दा माथिल्लो सिरान क्षेत्र पोखरा २३ हर्पनखोलामा निर्मित ‘सिल्टेसन ड्याम’ पनि खड्का कृष्ण/पि.के जेभी दाङले नै निर्माण गरेको हा। यसको लागत ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ रुपैयाँ रहेको थियो ।

तालको सिरान क्षेत्रमा सिल्ट पोखरी र ड्याम निर्माण भएसँगै फेवाताल पुरिनबाट जोगिने विश्वास गरिएको थियो । फेवातालको सिरान क्षेत्रका खोलाहरुबाट बगेर आउने ढुंगा, गिटी, माटो, बालुवा लगायतका ग्रेगर बगेर फेवातालमा मिसिदा वर्षेनी फेवातालको गहिराई घट्दै गएको थियो भने फेवाताल पुरिदा त्यसको आकारपनि घट्दै गएको तथ्यहरुले देखाउँदै आएको थियो । पोखरा २३ का वडा अध्यक्ष भरतराज भण्डारी निर्माण कै समयमा गुणस्तहित काम भएको भन्दै विरोध गरेका थिए ।

Editor: