गोरखा मिलन समाजको अध्यक्षमा पोखरेल

गोरखा मिलन समाजको अध्यक्षमा पोखरेल

पोखरा, १८ माघ/ गोरखा मिलन समाज पोखराको अध्यक्षमा कपिल पोखरेल निर्वाचित भएका छन् । शनिवार भएको २१ औं साधारणसभा तथा ११ औं अधिवेसनबाट पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति छानिएको हो ।

समितिको उपाध्यक्षमा कोपिला श्रेष्ठ, महासचिवमा अग्रिम श्रेष्ठ, सचिवमा सन्तबहादुर लामिछाने, कोषाध्यक्षमा शितल श्रेष्ठ र सहकोषाध्यक्षमा गीता खनाल चयन भए । सदस्यहरुमा शेरबहादुर राना, धिराज श्रेष्ठ, उमेशचन्द्र देवकोटा, दिपक भण्डारी, पुनम गुरुङ श्रेष्ठ र अनुप पाण्डे चयन भए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले समाजको गरिमा उचो बनाईराख्न स्वतन्त्र भएर सामाजिक काममा लाग्न आग्रह गरे । ‘यो सामाजिक संस्था हो । सबै जाति, भाषा, धर्म र लिङ्गका मान्छे यसमा अटाउँछन्,’ उनले भने, ‘जतिसक्दो समाजका लागि सेवा गरौं । अहिलेसम्म समाजले गरेको काम प्रशंसनीय छ ।’

सांसद हरिशरण आचार्यले समाजले गोरखा जिल्लाको प्रबद्र्धन र विकासका लागि पनि काम गर्नुपर्ने सुझाव दिए । ‘यहाँ बसेपनि हाम्रो जन्मथलो गोरखा हो । आफ्नो जन्मथलोका लागि केहि गरेर देखाउनुपर्छ,’ उनले भने, ‘गोरखाको पछौटेपन र गरिवी घटाउन गोरखा मिलन समाज पोखराले सहयोग गरोस् ।’ समाजले विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ भने विभिन्न सामाजिक काममा अग्रणी भुमिकामा छ ।

कार्यक्रममा अन्तर समाज महासंघकी अध्यक्ष मन्जु पौडेल भट्टराई, पुर्व अध्यक्ष शिवलाल धिताल, मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठ, सल्लाहकार अग्रिम श्रेष्ठ, संस्थापक सचिव गणेश श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठ, जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख भीमसेन कार्की लगायतले बोलेका थिए ।

सोही क्रममा विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गरेकाहरुलाई सम्मान गरिएको थियो भने आजीवन सदस्यहरुलाई सदस्यता प्रमाणपत्र दिईएको थियो । अध्यक्ष तिलकप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव कोपीला श्रेष्ठले गरेकी थिईन् भने उपाध्यक्ष कपिल पोखरेलले स्वागत गरेका थिए ।

 

Editor: