कास्कीमा १ सय ३८ स्वास्थ्यकर्मीलाई कोरोना, गण्डकीमा २ सय ६८ जना

कास्कीमा १ सय ३८ स्वास्थ्यकर्मीलाई कोरोना, गण्डकीमा २ सय ६८ जना

पोखरा, ७ माघ/ कोरोनाको तेस्रो लहरले गण्डकी प्रदेशका २ सय ६८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । सबै भन्दा धेरै कास्कीका स्वास्थ्यकर्मीलाई कोरोना लागेको छ । कास्कीका १ सय ३८ जनालाई कोरोना भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

गण्डकी प्रदेशकै ठूलो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका ३६ चिकित्सक सहित ७१ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको निर्देशनालले जनाएको छ ।

प्रसूति कक्षमा कार्यरत ११ चिकित्सक र हाडजोर्नी कक्षका ९ नर्समा एकैसाथ कोरोना देखिएपछि यी दुवै क्षेत्रमा सेवा प्रभावित भएको अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए ।

प्रसूति विभागमा ११, एनेस्थेसियामा ८, अर्थोपेडिक र सर्जरीमा ५/५, मेडिकलमा ३, नाक, कान घाँटीका २ र बाल र प्याथोलोजी विभागका १/१ जना चिकित्सक कोरोना संक्रमित भएको उनले बताए ।

प्रयोगशालाका ६ स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । त्यसै गरी हाडजोर्नी विभागमा ९, डायलोसिसमा ४, सर्जिकल र शल्यक्रिया शाखामा ३÷३ जना नर्स र कार्यालय सहयोगी संक्रमित भएका छन् । त्यस्तै प्रसूतिका २, संस्थागत खोप कार्यक्रममा १, सामाजिक सेवा इकाइका २, काउन्टरका २ र प्रशासनका २ कर्मचारी र नर्स पनि संक्रमित भएका छन् ।

त्यसै गरी तनहुँ ४२, लम्जुङ २०, नवलपुरमा १७, स्याङजा १२, बाग्लुङ ११, पर्वतमा १०, म्याग्दीमा ९, गोरखा ६ र मुस्ताङमा ३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ । संक्रमित स्वास्थ्यकर्मी अहिले घरमै आइसोलेसनमा रहेको र कतिपयलाई निको भईसकेको छ ।

Editor: