स्याङ्जाका एसपीसहित १८ जना प्रहरीमा कोरोना संक्रमण

कोरोना

पोखरा, १२ साउन/ जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत एसपीसहित १८ जनामा कोरोना संक्रमण देखिएको छ । साउन ३ गते जिल्ला कार्यालयमा कार्यरत ३ जना प्रहरीलाई कोरोना संक्रमण देखिए पछि कार्यालय सिल गरिएको थियो । सामान्य ज्वरो देखिएपछि उनीहरुको साउन ४ गते स्वाब लिएर परीक्षण गर्न पठाउँदा कोरोना संक्रमण पुष्टी भएसँगै कार्यालय सिल गरेको थियो ।

कार्यालय सिल गरेर जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत सबै ९८ जना प्रहरी कर्मचारीको स्वाब परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखीको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । सोमबार दिउँसो जिल्ला प्रहरी प्रमुख सहित थप १८ जना प्रहरी कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टीको उनले बताए

यससँगै स्याङ्जा प्रहरीमा कोरोना संक्रमितको संख्या २१ जना पुगेको छ । स्याङ्जाका प्रहरी भारत लगायत विदेश र जिल्ला बाहिरबाट आउने नागरिकलाई राख्न बनाइएको क्वारेन्टिन, सिमाना र संक्रमितलाई राखिएको आइसोलेसनमा खटिएका थिए ।

यसैबीच गण्डकी प्रदेशमा सोमबार दिउँसो स्याङ्जा प्रहरीका १८ जनासहित २४ जना कोरोना संक्रमित थपिएका छन् । कास्कीको पोखरा महानगरपालिकामा २ जना, रूपा गाउँपालिकामा १, माछापुच्छ्रे गाउँपालिका १, लमजुङको मध्यनेपाल नगरपालिकामा १ र दूधपोखरी गाउँपालिकाका १ जना रहेका छन् ।

गण्डकी प्रदेशमा हाल सम्म १ हजार ३ सय ९९ जना कोरोना संक्रमित भेटिएको छ । जसमा १ हजार २ सय १ जना कोरोना निको भएर घर फर्किएका छन् । अहिलेसम्म गण्डकीमा कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ ।

Editor: