फेवातालको सुन्दरता जोगाउन युवाको चासो, फोहोर उठाउदै हिड्दै

फेवातालको सुन्दरता जोगाउन युवाको चासो, फोहोर उठाउदै हिड्दै

पोखरा, ५ असोज/ युवाको सक्रियतामा शुरु भएको फेवाताल सफाइ अभियानले एक सय दिन पुरा गरेको छ । प्रोजेक्ट नेचर नेपालद्धारा शुरु गरिएको फेवाताल सफाइ अभियानले एक सय दिन पुरा गरेको अवसरमा फेवाताल सरोकारवालाहरु अभियान र आगामी योजनाको बारेमा जानकारी गराएको छ ।

लेकसाइड र आसपासका १८ जना युवाहरुको सक्रियतामा फेवाताल सफाइ अभियान शुरु गरिएको थियो । फेवातालको खपौदीदेखि बाराहीघाट ,गौरीघाटसम्म सफाइ गरेर करीब २७ सय बोरा फोहोर संकलन गरिएको अभियानका सदस्य विशाल जंग थापाले जानकारी दिनुभयो । “हामीले १९ डिसेम्बर २०१९ बाट प्रकृति संरक्षणको लागि तीन युवाले मेची महाकाली, कोरला विरंगजको साइकल यात्रा गरेका थियौ, त्यस लगत्तै फेवाताल सफाइ अभियानमा जुटेका हौ, अहिले हाम्रो १८ जना युथको सक्रियता रहेको छ ”

थापाले अभियानको उद्देश्य प्रकृती संरक्षण, युवा सक्रियता र जनचेतना रहेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा फोहोर व्यवस्थापन गरेर आर्थिक गतिविधिमा जोड्ने कार्यक्रम सहित वृहत रुपमा जाने र हातमा मोबाइल पब्जि खेलमा बन्द कोठा भित्र रहने युवालाई सामाजिक क्षेत्र प्रति उत्तरदायी बनाउने उद्देश्य पनि अभियानको रहेको उहाँको भनाइ थियो ।

युवाको सक्रियतालाई धन्यवाद दिदै पोखाराका अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले वातावरण फोहोर भए मानसिकतानै फोहोर हुने भएकाले स्वच्छ वातावरणका लागि हरेक नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले फेवाताल र यस आसपासका प्राकृतिक सम्पदाको सुन्दरतालाई जोगाउनु सबै पोखरेलीको साझा दायित्व भएकाले सबैले आआफ्नो ठाउँबाट सहयोगमा जुट्नु पर्ने धारणा राख्नुभयो ।

नागरिक समाज पोखराका संयोजक विष्णुहरी अधिकारीले सरसफाइ संस्कारको विकास हुन नसक्दा फोहोरको व्यवस्थापन हुन नसकेको बताउनुभयो । उहाँले डष्टविनमा मात्र फोहोर फाल्न सिकाउने नभइ डष्टविन नभएको ठाउँमा पनि फोहोरको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि विद्यालय तहदेखिनै शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

रेवान पोखरका अध्यक्ष एवं कार्यपालिका सदस्य भिमसेन भुजेलले युवाको सक्रियताले देशको मुहार फेर्न सक्ने भन्दै फेवाताल स्वच्छता प्रति देखाएको चासो अनुकरणीय भएकाले सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरमा वडा नं ६ का वडा अध्यक्ष जगत पहारीले फेवातालको सफाइका लागि छुट्टै समिति बनाएर यसको सौन्दर्यकरणका लागि वडाले विशेष कार्ययोजना बनाएको जानकारी दिनुभयो । सो सफाइ अभियानमा सक्रिय रहेका स्पेनका नागरिका एरिकले पनि पोखराको सुन्दरता जोगाउन फोहोरको व्यवस्थापन आवश्यक रहेको धारणा राख्नुभएको थियो ।

Editor: