विश्वराज रसाइलीको मुक्तकसङ्ग्रह शुभ–दृष्टि लोकार्पण

विश्वराज रसाइलीको मुक्तकसङ्ग्रह शुभ–दृष्टि लोकार्पण

पोखरा, २ फागुन/कवि, गीतकार एवम् मुक्तककार विश्वराज रसाइलीको कोरोना कहरमा रचना गरिएको मुक्तकसङ्ग्रह शुभ–दृष्टि लोकार्पण भएको छ ।

नेपाली ङ्ंगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले मुक्तकसङ्ग्रह शुभ–दृष्टि लोकार्पण गर्दै पोखरा साहित्यिक राजधानीसँगै मुक्तकको सहर भएको बताए ।

वि.सं. २०३५ सालदेखि टिकट काटेर मुक्तक सुन्ने परम्परा पोखरेली युवा साँस्कृतिक परिवारले सुरु गरेको स्मरण गर्दै २ दशकदेखि साधानारत विश्वराज रसाइलीका मुक्तकले पोखरालाई अझै सुन्दर बनाउने धारणा राखे ।

सञ्चारकर्मी सुरेश रानाभाटले शुभ–दृष्टिको समीक्षा गर्दै विश्वराजले विश्वपीडालाई लिपिवद्ध गरेको जनाए । कोरोनाकालीन बेसोमती राजनीतिक गतिविधि, विकृति, विसङ्गति, बेथिति, भ्रष्टाचार, जातीय विभेद, छुवाछुत, महिला हिंशा, बलात्कार, हत्या र सामाजिक असमानताका विरुद्ध कलम मार्फत् विद्रोहको झण्डा उठाएका मुक्तकहरूले समसामयिक यथार्थको चित्र उतारेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ले निम्त्याएको बन्दाबन्दी र त्यसबाट उत्पन्न जनजीवनको समस्यालाई रसाइलीले १ सय १ मुक्तक मार्फत् अभिव्यक्ति दिएका छन् । मुक्तककार रसाइलीको परिचय लालबहादुर परियारले राखेका थिए ।

प्रकाशक ज्योतिन्द्र घिमिरे ज्योति, गजलकार दीपक समीप, नारायण नेपाली, विष्णु अल्पविराम, अर्जुनरत्न भिकारी लगायतका वक्ताहरूले विश्वराजको सिर्जनकर्मको प्रशंसा गर्दै आगामी दिनमा सिर्जनशील निरन्तरतासहित अन्य कृतिहरू प्रकाशनका लागि शुभकामना दिएका थिए ।

रसाइलीका यसअघि शुभ–विवाह मुक्तकङ्ग्रह २०५५, शुभ–कामना कवितासङ्ग्रह २०७५ कृति प्रकाशन भइसकेका छन् । कहाँ विसाऊँ मनको भारी गीतिसङ्ग्रह, आफ्नै माटो आफ्नै भाग्य नाटकसङ्ग्रह, दलनका चीत्कारहरू मुक्तकङ्ंग्रह्, फूलबारीका अछुत फूलहरू कवितासङ्ग्रह, अपमानको आगो गजलसङ्ग्रह प्रकाशनको पर्खाइमा रहेका छन् ।

लेखनाथ साहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रम अध्यक्ष पद्मराज ढकालको सभापतित्वमा भएको थियो । कलाकार सविना सुनामले स्वागत मन्तव्य राखेकी थिइन भने उपाध्यक्ष छवि सुवेदी विजयीले धन्यवाद ज्ञापन र सञ्चारकर्मी आरजू विष्ट सल्यानीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Editor: