एगा पोखराको १८ औं साधारणसभा, स्वदेशी उत्पादनलाई ब्राण्डिङ गर्ने भावी योजना

एगा पोखराको १८ औं साधारणसभा, स्वदेशी उत्पादनलाई ब्राण्डिङ गर्ने भावी योजना

पोखरा, ८ पुस/ इम्ब्रोइडरी एण्ड गार्मेण्ट एशोसियसन (एगा) पोखराको १८ औं साधारण सभा सम्पन्न भएको छ । पोखरा– २२ कालाबाङ घरेडी होमस्टेमा सम्पन्न साधरणसभामा पर्यटकीय उत्पादनलाई जोड दिर्दै स्वदेशी उत्पादनलाई ब्राण्डिङ गर्ने भावी योजना प्रस्तुत गरेको छ ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराइले पोखराको पर्यटन विकास र प्रवद्र्धनमा एगाको उत्पादनले सकारात्मक भूमिका खेलेको बताउनुभयो । उहाँले आगामी दिनमा पोखरालाई देश विदेशमा चिनाउने उत्पादनमा पनि जोड दिन आग्रह गर्नुभयो ।

स्वदेशी तथा विदेशी पाहुनाको रोजाइको शहर पोखरा भएपनि पाहुनाले पोखराको चिनो को रुपमा लाने स्थानीय उत्पादन अझै हुन नसकेको जनाउँदै पर्यटक लक्षित उत्पादनमा जोड दिनुपर्ने आवश्यता औल्याउनुभयो । कोरोनाको कठिन अवस्था पार गरेका पर्यटन व्यवसायीले व्यवसायिक गति लिन अझै पनि समय लाग्ने भएकाले सरकारले पर्यटनमैत्री व्यवसायिक नीति मार्फत व्यवसायीलाई पलायन हुन जोगाउनु पर्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत नविन पोखरेलले सुन्दर शहरको चिनारी बोकेको पोखराले आफ्नै उत्पादनलाई ब्राण्डिङ गरेर अन्तराष्टिय जगतमा चिनाउनु पर्ने आवश्यता औल्याउनुभयो । उहाँले पर्यटन लक्षित रचनात्मक कार्यक्रमका लागि नेपाल पर्यटन बोर्ड सहकार्य गर्न तयार रहेको जनाउँदै पर्यटनमा समय अनुसार सृजनशिलतामा जोड दिन सुझाव दिनुभयो ।

पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले पर्यटन क्षेत्रको विकासमा सामुहिक धारणा र सोचको आवश्यतामा जरुरी रहेको बताउनुभयो । संस्थाका अध्यक्ष विश्वराज पोखरेलले एगा सम्बद्ध व्यवसायीहरुले आन्तरिक तथा बाह्रय पर्यटकलाई नेपाली मौलिकता बोेकेका उत्पादन सोभनियरका रुपमा प्रस्तुत गर्दै आएको जनाउँदै आगामी दिनमा पोखराको चिनारीको रुपमा उत्पादनलाई जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका निर्वतमान अध्यक्ष चिरञ्जिवि पोखरेल, संस्थाका उपाध्यक्ष एवम कार्यक्रम संयोजक गोर्कण लम्साल लगायतले पर्यटनको विकास र एगाको संस्थागत उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो । संस्थाका सचिव गिता ढकालले सचिव प्रतिवेदन पेश गर्दै भावि कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

Editor: