पोखरामा बिहीबारदेखि सार्वजनिक बस चल्ने

बस

पोखरा, ५ साउन / कोरोना भाईरस संक्रमणका कारण भएको लकडाउनका कारण झन्डै चार महिनासम्म थन्किएका सार्वजनिक सवारी साधन बसहरु संचालनमा आउने भएका छन् । पोखरा सहरमा बिहीबार (साउन ८) देखि सार्वजनिक सवारी चलाउने तयारी यातायात व्यावसायीले गरेका छन् ।

सरकारले जिल्ला भित्र मात्रै चलाउन पाउने निर्णय गरेपनि व्यवसायीले गण्डकी प्रदेशका जिल्ला भित्र मात्र आउजाउ गर्नेगरि बुधबार नै गाडी चलाउने तयारी व्यवसायीको छ ।

संक्रमणका कारण गरिएको लकडाउनले व्यावसायी आर्थिक रुपमा धरासायी बनेकोले गाडी किन्दा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा र ब्याज तिर्न नसक्ने भन्दै किस्ता अवधि कम्तिमा ६ महिना अवधि थपिनुपर्ने लगायतका माग व्यावसायीले राख्दै आएका थिए । मौद्रिक नीतिमार्फत आफुहरुको माग पुरा भएकोले अब गाडी गुडाउने तयारी गरेको व्यावायीले बताए ।

पोखरा उपत्यकामा विभिन्न कम्पनीले सार्वजनिक सवारी संचालन गर्छन। ती मध्ये पोखरा उपत्यकाभित्र सार्वजनिक सवारी संचालन गरिरहेको सबैभन्दा ठुलो कम्पनि पोखरा यातायात प्रालिका प्रबन्ध निर्देशक अमृत शर्माले सरकारले मौद्रिक नीतिमार्फत यातायात व्यावसायीका माग सम्बोधन गरेपछि व्यावसायी गाडी गुडाउन तयार भएको बताए । उनका अनुसार बिहीबारदेखि सहरभित्र पोखरा यातायातका गाडी गुड्ने बताए ।

पोखरा बसका ३७८ वटा गाडी छन । पहिलो चरणमा ५० प्रतिशत हाराहारीमा मात्र गाडी गुडाउने तयारी भएको उनले बताए । उनका अनुसार अरुबेला सामान्य अवस्थामा पोखरामा दैनिक ३ सय बस गुड्थे । ३७८ वटा गाडी भएपनि सबैले दैनिक गुडने पालो पाउँदैनथे । तर, अब भने १५० संख्यामा चलाउने तयारी भएको उनले बताए ।

अरुबेला पनि सातामा एकदिन सबै गाडी पालैपालो रोकिन्थे । अहिले यात्रु अभाव देखेर आधा संख्यामा गुडाउने तयारी गरिरहेको उनले बताए । पोखरा यातायातले सहरभित्र १४ र ग्रामिण सहित गर्दा २८ रुटमा गाडी चलाउँदै आएको थियो ।

पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष योगेन्द्रबहादुर केसीले लामो दुरिमा चल्ने अनुमति नपाइसके पनि तयारी भने गरिसकेको बताए । यात्रुको सुविधाको लागि साउन सातगतेदेखि प्रदेशभित्र गाडी गुडाउने उनले बताए। ‘जिल्लास्तरमा चलाउँदा यात्रुलाई र व्यावसायीलाई पनि मार छ ।

तर, प्रदेशस्तरमा चलाउन जरुरी छ। अब लामो दुरीमा पनि रोक्न जरुरी छैन,’ केसीले भने, ‘प्रदेशस्तरमा साउन ७ र लामो दूरीमा साउन ११ गतेदेखि संचालन गर्ने तयारी भईसकेको छ।’ पृथ्वीले पोखरा सहरभित्र भने गाडी चलाउँदैन ।

Editor: