no comments

पोखरामा पुष तेस्रो साता पोखरा सडक महोत्सव, होटलमा ५० प्रतिशत छुटको घोषणा

पोखरा, १ पुष / कोरोना महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्र चलायन बनाउन पोखरामा विगत वर्षमा जस्तै पोखरा सडक महोत्सव हुने भएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान), पोखराले अंग्रेजी नयाँ वर्ष अवसरमा पुस १५ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा २२ औं पोखरा सडक महोत्सव तयारी गरेको जनाएको छ ।

पोखरामा बुधबार पत्रकार सम्मेलनमा गरेर कोभिड–१९ का कारण बन्द रहेका होटल, रेष्टुरेन्ट लगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन स्वास्थ्य मापदण्ड अपनाउँदै ३ दिनका लागि महोत्सव गर्न लागेको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।

विगत ९ महिनादेखि पर्यटनसम्बन्धी कुनै पनि गतिविधि नभएको, कतिपय व्यवसायीहरु विस्थापित समेत भैरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी ‘पोखरा खुला छ’ भन्ने सन्देश दिन स्थानीय प्रशासनको स्वीकृतिमा महोत्सव गर्न लागिएको महोत्सव संयोजक बसन्त गौतमले जानकारी दिए ।

विगतमा पुस १३ देखि १७ सम्म ५ दिनका लागि हुने महोत्सव यसपालि छोट्याएर ३ दिनमात्र गर्न लागिएको हो । महोत्सव विगतमा झैं सहिदचोकदेखि हल्लनचोक सम्मको करिब ३ किमी क्षेत्रफलमा हुनेछ ।

महोत्सव सफल पार्न गौतमको संयोजकत्वमा गठित समितिमा सचिव भीष्मराज पौडेल र सहकोषाध्यक्ष रोशनजंग कार्की सहसंयोजक चुनिएका छन् ।

अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले हुने सडकमा हुने महोत्सवमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषसहित सांस्कृतिक कार्यक्रम हुनेछन् । यसपालि तडकभडक र तामझाम भने हुने छैनन् ।

यसैबीच, पश्चिमाञ्चल होटल संघले कोठामा ५० प्रतिशत छुट दिने घोषणा महोत्सव अवधिसम्म पनि कायम राख्ने जानकारी दिएका छन् ।

 

TechSansar.com - Technology Navigator website for Nepalese