no comments

टीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्ड तयारी

पोखरा, ५ माघ/ नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ), गण्डकीले कोभिड–१९ का कारण स्थगित टीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्डको तयारी थालेको छ ।

मञ्चको सोमबार बसेको १८ औं बैठकले वर्ष २०७६ र ०७७ दुवैलाई जोडेर एकै पटक विश्व प्रेस स्वतन्त्रता दिवस अवसरमा आगामी वैशाखमा ‘टिभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६/०७७’ नाममा कार्यक्रम गर्ने निर्णय गरेको हो । जसअनुसार दुवै वर्ष अवधिमा आफ्नो प्रतिभा प्रदर्शन आधारमा विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

तयारीका लागि मञ्च अध्यक्ष एकराज गिरीको मूल संयोजकत्वमा यसअघि गठित १ सय १ सदस्यीय मूल आयोजक समिति, विभिन्न उपसमिति, खेलाडी मनोनयन समिति र पत्रकारतर्फ प्रतिभा छनोट समितिलाई नै सोही जिम्मेवारी सुम्पिने निर्णय गरेको छ ।

जसअनुसार मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित सल्लाहकार उपसमिति सदस्यमा कृष्णप्रसाद बास्तोला, नारायण कार्की, पुण्य पौडेल, बद्रीविनोद प्रतीक, रमेश पौडेल, त्रिभुवन पौडेल, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, केशवशरण लामिछाने, माधव बराल, नवीन सिग्देल र दुर्गा अधिकारी छन् ।

यस्तै, सो समितिमा पत्रकार महासंघ गण्डकी प्रदेश क्षेत्रका ११ वटै जिल्लाका महासंघ अध्यक्ष, विभिन्न खेलसम्बद्ध संघका अध्यक्ष समेत सदस्य छन् ।

यस्तै, आर्थिक उपसमिति संयोजकमा मञ्च कोषाध्यक्ष शशीकुमार पौडेल, प्रचारप्रसार उपसमिति संयोजकमा महासचिव विजय नेपाल, मायाको चिनो, प्रमाणपत्र एवं प्राविधिक व्यवस्थापनमा उपाध्यक्ष रञ्जन अधिकारी, सांस्कृतिक उपसमितिमा सचिव राजाराम पौडेल, संघसंस्था समन्वयमा कार्यसमिति सदस्य नारायण शाही, अतिथि सत्कारमा सदस्य कविता घर्तीमगर, भिडियोग्राफी/फोटोग्राफीमा सदस्य गीता राना, स्वयंसेवकमा दीपक गोदार संयोजक छन् । सम्बन्धित उपसमिति संयोजकले कम्तीमा ३ सदस्य स्वयं छनोट गर्नेछन् ।

यस्तै, वर्ष उत्कृष्ट पत्रकारिता अवार्डका लागि प्रतिभा छनोट संयोजकमा दीपेन्द्र श्रेष्ठ, त्रिभुवन पौडेल, विनोद लामिछाने, पदेन सदस्यमा मञ्च अध्यक्ष र महासचिव छन् । खेलाडी मनोनयनतर्फ रामकृष्ण ज्ञवाली, केशव पाठक, दीननाथ बराल, सन्देश श्रेष्ठ र सुदर्शन रञ्जित तथा पदेन सदस्यमा मञ्च अध्यक्ष र महासचिव रहेको छनोट समिति गठित छ ।

बतास ब्रदर्शको मुख्य प्रायोजनमा हुँदै आएको सो कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष चर्चित खेलाडी, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड रहेका छन् । विगतमा जिल्लास्तरको उक्त अवार्ड चौथो संस्करणदेखि गण्डकी प्रदेशस्तरीय हुँदैआएको छ । यसपालि पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्णलाई मञ्चले सहयोगको आग्रह गरेको छ ।

यसैबीच, बैठकले १३ औं सागमा मञ्चले गरेको योगदानको कदर गर्दै मदन भण्डारी स्पोर्टस् एकेडेमीले सम्मान गरेकोमा हार्दिक आभार व्यक्त गरेको छ । यस्तै दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७६ बाट सम्मानित मञ्च संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली र जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट पुरस्कृत पूर्व सहसचिव अर्जुन गिरीप्रति हार्दिक बधाई ज्ञापन गर्दै अझ प्रगतिको कामना गरेको छ ।

गत वर्षदेखि विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट संक्रमित मञ्चका सदस्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खेलकुद पत्रकारितामा क्रियाशील रहन आग्रह गरेको छ ।

बैठक मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएकोमा संचालन महासचिव विजय नेपालले गरेका थिए । २०७७ वैशाख २१ मा सम्पन्न गर्ने गरी घोषित पोखरा स्पोर्टस् अवार्ड कोभिडका कारण स्थगित हुँदै आएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese