no comments

पोखरामा हुने टाइगर कप भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेश पुरुष टिमको घोषणा

पोखरा, २० माघ/ पोखरामा माघ २७ देखि फागुन १ गते सम्म आयोजना हुने “प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिता”का लागि आयोजकले टिमको घोषणा गरेको छ ।

प्रतियोगिताको आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा, नेपालले तिन जना वैकल्पिक सहित १५ सदस्यिय टिमको घोषणा गरेको हो । प्रतियोगिताका संयोजक नविन गुरुङका अनुसार गण्डकी प्रदेश पुरुष टिम हरि पाण्डेको कप्तानीमा मैदानमा भिड्ने भएको छ ।

छनोट भएका खेलाडीमा ओपन स्पाइकरतर्फ घनश्याम चौधरी (नवलपुर), किरण गुराउ (नवलपुर), इश्वर थापा (स्याङजा) र सञ्जय परियार (पर्वत) रहेका छन । त्यसै गरि क्विक स्पाइकरतर्फ राजु विक (वागलुङ), याम क्षेत्री (कास्की) र रुपेन्द्र गैरे (पर्वत) रहेको संयोजक गुरुङले बताए ।

त्यस्तै अलराउण्डरतर्फ हरि पाण्डे (स्याङजा) र सन्तोष थापा (स्याङजा) सेटरतर्फ सूजन चोखाल (म्याग्दी) तथा ठग वहादुर गुरुङ (स्याङजा) रहेका छन भने लिव्रोतर्फ राजन दर्लामी मगर (स्याङजा) रहेका छन । तिन जना वैकल्पिक खेलाडीतर्फ सफल बिक (कास्की), विवश थापा (कास्की र मनोज खड्का (कास्की) रहेको आयोजकले जनाएको छ । आयोजकले टिमको प्रशिक्षकमा रमेश केसीलाई जिम्मेवारी दिएको छ ।

राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र न्यू डायमण्डको सहभागिता रहने छ । यसै गरि पुरुषतर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र गण्डकी प्रदेशको सहभागिता रहने भएको ग्रुपका सचिब प्रकाश बरालले जानकारी दिएका छन ।

प्रतियोगितामा उपाधी विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितियले ७५ हजार तथा तृतियले नगद २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरि सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्नेछन । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने भएका छन ।

कुल २५ लाख अनुमानित खर्च हुने जनाइएको उक्त प्रतियोगितामा ३० लाख वचत हुने ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले बताए । प्रतियोगिताबाट बचेको रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च गरिने उनले बताए । प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर १ सय तोकिएको छ भने सेमीफाइनलका लागि १ सय ५० र फाइनल खेलका लागि २ सय तोकिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese